प्रदिप पन्त
बागलुङ, वैशाख १० गते । विद्युतीय सवारी साधनको प्रयोग अहिले बढ्न थालेको छ । प्रमुख राजमार्गहरुमा फाट्टफुट्ट गुड्ने विद्युतीय सवारी साधनको सङ्ख्या अहिले बढ्दै गएको छ । पर्यावरणीय सन्तुलनको दृष्टिकोणले पेट्रोल र डिजेल गाडीको विकल्पको रुपमा लिइएपछि विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको हो ।
अहिले विद्युतीय सवारी साधन प्रति आकर्षण बढ्न थालेको धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो । “विद्युत्तीय सवारी साधनको आर्कषण बढ्दो छ,’’ केसीले भन्नुभयो, ‘‘यात्रामा सहज हुने भएपछि यात्रुको पनि रोजाई बनेको छ ।” विद्युतीय सवारी साधन गुड्ने थालेपछि राजमार्गका आसपासमा चार्जिङ स्टेशन सञ्चालनमा आउन थालेका छन् ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीहरूको व्यवस्थापन र सञ्चालन खर्च तीन गुणा सस्तो पर्न जाने भएपछि माग बढेको चार्ज सञ्चालक रामजी कुवँरले बताउनुभयो ।
झन्डै दुई घण्टा ब्याट्री चार्ज गरेपछि एक सय पचास किलोमिटर सवारी साधन गुडाउन सकिने भएको छ । यात्रामा विद्युतीय सवारीमा आम उपभोक्ताको आकर्षण समेत बढ्न थालेको छ । विद्युतीय सवारी साधन बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडी खरिद गर्ने ग्राहकको सङ्ख्या बढेको बताएका छन् ।