• १० वैशाख २०८२, बुधबार

गाउँपालिकाकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको तयारी

blog

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको तयारीको पूर्वसन्ध्यामा जिल्ला खोप समन्वय समितिअन्तर्गतका सरोकारवाला प्रतिनिधि स्वास्थ्य संस्थाहरूमा अनुगमन गर्दै । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १० गते ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको तयारी गरिएको छ । गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि सरावललाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणाको तयारी गरिएको हो ।

गाउँपालिकाले खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरी पूर्ण खोप लगाएपछि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसनका लागि अनुरोध गरेको थियो । पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणाका लागि जिल्ला खोप समन्वय समितिले अनुगमन गरी भेरिफिकेसन समेत गरिसकेको छ ।

गाउँपालिका भित्रका १६ देखि ५९ महिनासम्मका कूल दुई हजार ३०६ बालबालिकामध्ये खोप लगाउन छुटेका पाँच जना बालबालिकालाई छुट भएका सबै खोपहरु लगाइएको प्रमुख देवकोटाले बताउनुभयो । सरावलमा ६ वटा स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वास्थ्य इकाई गरी साता वटा स्वास्थ्य संस्था रहेका छन् ।

जिल्ला खोप समन्वय समितिको बैठकबाट पालिकालाई घोषणाका लागि अनुमति तथा जानकारी पत्र प्रदान गरेपछि वैशाख महिना भित्रै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिनेछ । सरावलका ७ वटा वडा मध्ये ४ नम्बर वडा बाहेक अन्य सबै वडा पूर्णखोप सुनिश्चित वडा घोषणा भइसकेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमनारायण देवकोटाले जानकारी दिनुभयो ।

पूर्णखोप सुनिश्चित निर्देशिका बमोजिम माघमा घरधुरी सर्वेक्षण गरी चैत महिनासम्ममा खोप लगाउन छुटेकाहरूका लागि खोप पूरा लगाएको पाइएको स्वास्थ्य कार्यालय नवलपरासीका खोप सुपरभाइजर अधिकृत ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।