• १० वैशाख २०८२, बुधबार

भेटिए घडियालका गुँड

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख १० गते । कैलालीका नदीमा दुर्लभ घडियाल गोहीले अन्डा दिने तयारी गर्न थालेको छ ।   जिल्लामा रहेका विभिन्न नदीमा घडियालले अन्डा दिने तयारी गरिरहेका पाइएको हो । कर्णाली, मोहना, पथरैया नदीमा अन्डा दिनका लागि घडियालले परीक्षण गुँड बनाउन सुरु गरेका छन् । तीन वटै नदीको विभिन्न घाटमा अनुगमन गर्दा घडियालको एउटा अन्डा दिएकोसहित १६ वटा गुँड फेला परेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । 

ढुङ्गानाका अनुसार यस वर्ष कर्णाली नदीमा सबैभन्दा बढी सात वटा घडियालको परीक्षण गुँड देखिएको छ । यस्तै मोहना नदीमा भजनी नगरपालिकास्थित हलौनाबाबाघाट र हिम्मतपुरघाटमा तीन/तीन वटा गुँड भेटिएको छ । हिम्मतपुरको एउटा गुँडमा घडियालले अन्डा दिइसकेको जनाइएको छ । 

यसै गरी पथरैया नदीमा पनि यस वर्ष घडियालको तीन वटा परीक्षण गुँड फेला परेको उहाँले बताउनुभयो । मोहना नदीस्थित कुसुमघाटमा एउटा मगर गोहीको गुँड पनि भेटिएको छ । कैलालीमा पछिल्लो तीन वर्षयता घडियाल गोहीले गुँड बनाउने र बच्चा कोरल्ने गरेको पाइएको छ । गत वर्ष कर्णालीमा तीन र पथरैया नदीमा दुई गुँडमा घडियालले बच्चा कोरलेका थिए । पाँच गुँडबाट घडियालले १२४ जीवित बच्चा निकालेको पाइएको थियो । पथरैया नदीमा रहेको एउटा गुँडको अन्डाबाट भने बच्चा निस्कन सकेनन् । 

पुस, माघमा प्रजनन क्रियापछि पोथीले चैत वैशाखतिर अन्डा दिने गरेको बताइएको छ । यिनीहरूले नदी किनारको बालुवामा गुँड (खाल्डो) बनाएर त्यसमा एकै पटक ४० वटासम्म अन्डा पार्ने गरेको बताइन्छ । खाल्डोमा अन्डा पुरेर गोही फेरि जलाशयमा फर्कने र बच्चा ननिस्केसम्म बेला बेला गुँडसम्म पुगेर रेखदेख गर्ने गरेको जनाइएको छ ।