सुर्खेत समाचारदाता
सुर्खेत, वैशाख १० गते । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत उपत्यकाको तल्लो क्षेत्रबाट अवलोकन गर्न सहज हुने उद्देश्यले प्रदेश सरकारले छ वर्ष अगाडिदेखि निर्माण गर्न लागेको भ्यु टावर अहिले अलपत्र छ । वीरेन्द्रनगर नगरपालिका–११ को चारकुनेको जङ्गलमा आर्थिक वर्ष २०७५/७६ बाट भ्यु टावर बनाउन लागिएको हो । वीरेन्द्रनगर बजारदेखि करिब सात किमी दक्षिणमा रहेको सो स्थानमा बन्न लागेको भ्यु टावर प्रदेश सरकार फेरबदलसँगै अलपत्र छ ।
हालसम्म सो भ्यु टावरमा २५ लाखभन्दा बढी खर्च भइसकेको छ । प्रदेश सरकारले डिभिजन वन कार्यालय सुर्खेतमार्फत सुरुमा भ्यु टावर निर्माणको जिम्मा दिएको थियो तर बजेट अभाव भएपछि भ्यु टावर अलपत्र बनेको छ । वीरेन्द्रनगर नगरपालिका–११ का स्थानीय बासिन्दा साउने चौधरीले विगत तीन वर्षदेखि भ्यु टावरको काम रोकिएको बताउनुभयो । उहाँले भ्यु टावर बनेपछि पर्यटकको आगमन हुने, आफ्नो गाउँठाउँको सानोतिनो विकास हुने आशा रहेकोमा अहिले अलपत्र बन्दा निराश बनेको बताउनुभयो ।
अर्का स्थानीय समीर चौधरीले प्रदेश सरकारले समन्वय नै नगरी एक्कासि भ्युटावरको काम अगाडि बढाएको स्मरण गर्नुभयो । अहिले भ्यु टावर अलपत्र भएपछि त्यहाँ रहेका सामान पनि सबै चोरी भइसकेको, सिमेन्ट खेर गइसकेको र भ्यु टावरको पिल्लर पनि खिया लाग्न थालेको उहाँले बताउनुभयो । अग्लो डाँडाबाट सुर्खेत उपत्यका राम्ररी हेर्न सकिने भएको ठाउँमा भ्यु टावर अनावश्यक भएको भन्दै उहाँले अलपत्र हुँदा बजेट खेर गएको बताउनुभयो ।
आव २०७५/७६ पछिको दुई वर्षसम्म भ्यु टावर बनाउन केही रकम आएको थियो । सो रकमले काम पनि सुरु भयो । डिभिजन वन कार्यालय सुर्खेतका अनुसार आव २०७६/७७ सम्म मात्र बजेट आएको हो । आव २०७९/८० मा बजेट आए पनि काम हुन सकेन । सुरुमा थोरै बजेटले काम गर्दै गएको र डिपिआरमा ६४ लाख लाग्ने भएपछि अलपत्र परेको जनाइएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत प्रशान्त श्रेष्ठले लागत बढी लाग्ने भएपछि प्रदेश सरकारबाट बजेट आउन छोड्दा भ्यु टावरको काम पनि रोकिएको बताउनुभयो ।