• ३१ वैशाख २०८१, सोमबार

१५ करोड लागतमा निर्मित नेपालकै पहिलो औद्योगिक ग्राम प्रयोगविहीन

blog

१५ करोड रुपियाँ लागतमा चार वर्ष अघि निर्माण गरिएको औद्योगिक ग्राम । तस्बिरः कविराज घिमिरे

धनकुटा, जेठ २४ गते । स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनको लागि धनकुटा नगरपालिका वडा नम्बर ६ मा स्थापना भएको औद्योगिक ग्राम प्रयोगविहीन भएको छ । करोडौ रुपियाँ लगानीमा संरचना निर्माण गरिएपनि सञ्चालनमा आउन सकेको छ ।

संरचना निर्माण गरिएको चार वर्ष बित्दासमेत ग्राम सञ्चालनमा आउन सकेको छैन । नेपालमै पहिलो पटक धनकुटामा औद्योगिक ग्राम निर्माण भए पनि दुई वर्षसम्म सञ्चालन कार्यबिधि अभावका कारण रोकिएको जनाएको छ । तर अहिले कार्यबिधि बने पनि यो सञ्चालनमा आउन सकेको छैन ।

औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर लामो समय सम्म कुनैपनी उद्योग स्थापना नभएपछि अन्ततः औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर औद्योगिक ग्राम स्थापनाको भएको थियो । पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिक ग्राम स्थापनाको तयारी गरिए पनि धनकुटामा भने पहिलो चरणको भवन निर्माण भइसकेको छ । 

करिब एक वर्ष पहिलेनै पहिलो चरणको संरचना निर्माण भइसकेका छन् । कोभिड लगायत बिभिन्न समस्याले ग्राम सञ्चालनमा आउन नसकेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ । अहिले थप संरचना निर्माणको क्रममा छ । पहिलो चरणमा निर्माण भएका संरचनामा उद्योग सञ्चालनको तयारी गरिएको कार्यलयका प्रमुख इश्वर थापाले जानकारी दिनुभयो । अहिलेसम्म २५ वटा ब्लक निर्माण पूरा गरी यही आर्थिक वर्ष भित्र सञ्चालन गर्ने गरि टेन्डर आह्वान गरिए पनि १५ वटा साना तथा घरेलु उद्योगीले मात्र टेण्डर दिएकोमा उनीहरु समेत सम्झौताको लागि नआएको थापाले बताउनुभयो । 

करिब १५ करोड रुपियाँको लागतमा निर्माण गरिसकिएको करिब दुइ दर्जन ब्लक प्रयोग बिहीन छन् । यहाँ पहुँच मार्ग, पर्खाल, गेट, दुइ वटा शाैचालय, स्नानागार, नाली र पानी ट्याङ्की निर्माण गरिएको छ । साना उद्योग सहित आवास, बिक्री कक्ष, बालकेयर सेन्टर, स्वास्थ्य सेवा लगायतको सबै सेबा औद्याेगिक ग्रामभित्रै उपलब्ध हुनेछ । ग्राम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भएको छ । तर औद्योगिक ग्राम सञ्चालनमा आउन नसकेको हुँदा विनियोजित रकम  खर्च हुन सकेको छैन । सबैलाइ पायक पर्ने स्थानमा नभएका कारण उद्योगीले ग्रामभित्र उद्योय सञ्चालन गर्न चासो नदिएको लघुउद्यमीको भनाइ छ । बजारभन्दा पर हुनु तथा यसको बारेमा धेरै उद्यमीलाइ जानकारी नभएका कारण औद्याेगिक ग्राममा उद्यमीको ध्यान नपुगेको कविता फलफूल प्रशाेधन केन्द्रकी सञ्चालन कविता कन्दङवा बताउनुहुन्छ ।

पहाडी क्षेत्रको उद्योगी व्यवसायी र साना लगानीमा सञ्चालन हुने लघु उद्योगहरुलाई एउटै थलोबाट सेवा प्रदान गर्ने र वजार व्यवस्थापनमा समेत टेवा पु¥याउने औद्योगिक ग्रामको मुख्य उद्देश्य रहेको जनाइएको छ  ।

Author

कबिराज घिमिरे