काठमाडौँ, वैशाख १० गते । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ । चिःबहाल परिवार, ठमेलको सहआयोजनामा सम्पन्न काव्योत्सवमा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले आफ्नो वडाभित्र हुने साहित्यिक कर्ममा आफ्नो सहयोग रहने बताउनुभयो । उहाँले कविको कलम नकारात्मक कुराविरुद्ध समाजलाई व्यवस्थित गर्नेतर्फ चल्ने कुरामा आफू आशावादी भएको बताउनुभयो ।
गीतकार राजेन्द्र शलभले कविता सुनाउँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत गाउँदै विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा स्नेह सायमिले चिःबहालका बारेमा आफ्ना कुरा राख्दै कविता सुनाउनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले प्रतिष्ठानले स्थापनाको सुरुमै धेरै साहित्यिक गतिविधि सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।