केशवचन्द्र महरा
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको जोरायाल गाउँपालिका – १ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामग्री बोकेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको मिनीट्रक दुघर्टना भएको हो ।
दुर्घटनामा ट्रक चालक बुङ्गल नगरपालिका – २ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो । ट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको र मृतकको पहिचान खुल्ल नसकेको उहाँले बताउनुभयो ।