• ९ वैशाख २०८२, मङ्गलबार

मानव–वन्यजन्तु द्वन्द्व न्युनीकरण तालिम

blog

निबन्ध प्रतियोगितामा पुरस्कृत विद्यार्थी । तस्बिर सौजन्य : अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय

खलङ्गा समाचारदाता 

दार्चुला, वैशाख ९ गते । नेपाल सरकार सङ्घीय कार्यालय अन्तर्गत पर्ने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र सुदूपश्चिम प्रदेश सरकार अन्तर्गत पर्ने डिभिजन वन कार्यालय दार्चुलाले मानव–वन्यजन्तुको द्वन्द घटाउन विद्यालयस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । 

डिभिजन वन कार्यालयको जैविक विविधता संरक्षण स्कुल शिक्षा कार्यक्रम अन्तर्गत ३० औँ वन्यजन्तु सप्ताहको अवसर पारेर वैशाख १ देखि ७ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका हुन् । सप्ताहको दोस्रो दिन वैशाख २ गते सदरमुकाम खलङ्गाका चार विद्यालयका विद्यार्थीलाई सहभागी गराई ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानी नोक्सानी’ शीर्षकमा निबन्ध प्रतियोगिता गरिएको थियो । विद्यालयस्तरमा गरिएका जनचेतनामूलक कार्यक्रमले राम्रो परिणाम दिने गरेको बताइएको छ । 

विद्यार्थीमाझ वन्यजन्तु र उनीहरूको संरक्षणबारे ज्ञान प्रदान गर्न सके मानव र वन्यजन्तुसँगको द्वन्द्व घटेर जाने विश्वास लिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन विनय झाले बताउनुभयो । ग्रामीण भेगका विद्यार्थीमार्फत गाउँ गाउँमा जनचेतना फैलाउन सके मानव–वन्यजन्तुको द्वन्द्व कम गर्न सकिने डिभिजन वन कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो । कार्यालय प्रमुख जोशीले भन्नुभयो, “विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत मानव–वन्यजन्तुको द्वन्द्व घटाउन विद्यार्थीलाई निबन्ध प्रतियोगितामा सहभागी गराइएको हो ।”

वैशाख २ गते सदरमुकाम खलङ्गामा सञ्चालित महेन्द्र माध्यमिक विद्यालय, एसियन एकेडेमी, वसन्त भ्याली पब्लिक स्कुल र न्यु मोर्डन बोर्डिङ स्कुलका विद्यार्थीलाई सहभागी गराई निबन्धलेखन प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई सप्ताहको अन्तिम दिन आइतबार पुरस्कृत गरिएको छ । 

प्रतियोगितामा एसियन एकेडेमीका विद्यार्थी सुदर्शन कुँवरले प्रथम र ज्योति जोशीले दोस्रो र वसन्त भ्याली पब्लिक स्कुलका निधि ऐरीले तेस्रो स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा एसियन एकेडेमीका ईशान पालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।