सिँजा समाचारदाता
सिँजा (जुम्ला), वैशाख ८ गते । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकको घरमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच पुर्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका लागि हिमा–१, देयारगाउँमा आयोजित संयुक्त बृहत् खानेपानी तथा सरसफाइ सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले पानीको पहुँच विस्तार गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाँले संविधानले प्रदान गरेको खानेपानीको अधिकारलाई आमनागरिकले प्रयोग गर्न पाउने अधिकार सरकारले व्यवस्थापन गर्ने जनाउनुभयो । ग्रामीण बस्तीका नागरिकलाई सुरक्षित र शुद्ध खानेपानीको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले भन्नुभयो, “हिमा गाउँपालिकाले तयार पारेको पाँच करोड रुपियाँ बराबरको खानेपानीको डिपिआर कार्यान्वनका लागि बजेटको व्यवस्थापन हुन्छ, हिमाका सबै घरमा खानेपानीको पहुँच पुर्याउन सरकारले सहयोग गर्छ ।”
खानेपानीका साथै ढल व्यवस्थापनका लागि सरकारका तर्फबाट सहयोग रहने मन्त्री यादवले बताउनुभयो । देशको खानेपानी र सरसफाइको अवस्था सुधारका लागि सरकार कटिबद्ध रहेको भन्दै उहाँले जुम्लामा निर्माणाधीन अवस्थामा रहेको बृहत् धौलीगाड खानेपानी परियोजना अघि बढाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो । एक अर्ब २६ करोड रुपियाँको लागतमा निर्माणाधीन अवस्थामा रहेको धौलीगाड खानेपानी परियोजनाका लागि रकम अभाव हुन नदिने मन्त्री यादवले स्पष्ट गर्नुभयो ।
एक फरक प्रसङ्गमा उहाँले गणतन्त्रमाथिको प्रहार सह्य नहुने जानकारी गराउनुभयो । नेपाली जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था परिवर्तन गर्छु भन्नु दिवास्वप्न भएको उहाँको भनाइ छ ।