• ७ वैशाख २०८२, आइतबार

जुत्ता सिलाएरै परिवारको गुजारा

‘चोरे लात मिल्छ, मागे राज मिल्छ !’

blog

नदीछेउमा कुटिया बनाएर जुत्ता सिउँदै दानबहादुर सार्की । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता

कञ्चनपुर, वैशाख ७ गते । कलकत्ता बजारको पश्चिमतर्फ सुतिया नदीछेउमा बाँस र खरले छाएको सानो कुटिया छ । त्यहीँ दानबहादुर सार्की (दाने) कुटियामा पाँच दशकदेखि जुत्ता सिलाउँदै आउनुभएको छ ।  कञ्चनपुरको बेलौरी नगरपालिका–८, कलकत्ता बजारमा सार्कीले जुत्ता, चप्पल र गाडीका टायर सिलाउँदै आउनुभएको हो ।

१५ वर्षको कलिलो उमेरदेखि पुर्ख्यौली पेसा जुत्ता, चप्पल सिलाउन थाल्नुभएको उहाँले उमेरको ६४ वर्षमा पनि सोही पेसालाई निरन्तरता दिइराख्नुभएको छ । अन्य सिप र रोजगारी नहुँदा सानै उमेरमा बुवाबाट प्रेरणा पाएर जुत्ता, चप्पल सिउन सिक्नुभएका दाने सोचे अनुरूप भने खर्च धान्न नसकिएको बताउनुहुन्छ । 

तीन दशकअघि उहाँले नयाँ जुत्ता र चप्पल बनाउनुहुन्थ्यो । उतिखेर जङ्गलबाट जनावरका छाला मगाएर नयाँ जुत्ता बनाउने गरेको उहाँ सम्झनुहुन्छ । उतिखेर हातले बनाएका जुत्ता, चप्पल ४/५ वर्ष टिकाउ हुने गरेको उहाँ सम्झनुहुन्छ तर एक दशक पहिलेदेखि भने आफैँले जुत्ता, चप्पल बनाउन छाडेको उहाँले बताउनुभयो । 

विदेशी मेसिनबाट निर्माण गरिएका जुत्ता चप्पल भित्रिएपछि भने नयाँ जुत्ता चप्पल बनाउन छोडेको उहाँले बताउनुभयो । डेढ दशक यता भने कच्चा पदार्थ नपाउँदा र मेसिनरी उत्पादन भित्रिँदा उहाँ फाटेका जुत्ताचप्पल सिउँदै आउनुभएको छ ।  जब जब पेसा अगाडि बढाउन चुनौती थपिँदै गए, तब तब साहु महाजनबाट ऋण लिएको सम्झँदै उहाँ भन्नुहुन्छ ‘चोरे लात मिल्छ, मागे राज ।’

जुत्ता, चप्पल सिउँदै आउनुभएका उहाँ उधारो कारोबारबाट पेसा नै बन्द गर्ने अवस्था आउने गरेको बताउनुहुन्छ । “कैयौँ पटक यस्तो भएको छ,” उहाँले भन्नुभयो, “जुत्ता, चप्पल सिलाएपछि पैसा पछि दिन्छु भन्दै जाने गरेका छन्, जसबाट सियोधागो किन्नसमेत कुनै बेला पैसा हुँदैन ।” दिनभरि काम ग¥यो, साँझ साहुबाट उधारोमा नुनतेल किन्नुपर्दा साह्रै समस्या हुने गरेको उहाँ सम्झनुहुन्छ । 

“कैयौँ पटक व्यापार नै बन्द गरेर भारततिर कमाइका लागि जान मन लाग्थ्यो,” उहाँले सम्झनुभयो, “गाउँका भद्रभलाद्मीसँग कुरा गरेर हजार, पन्ध्र सय मागेर जीविका चलाएको छु ।” चोरेर जीविका चलाउनुभन्दा मागेर जीविका चलाए राज मिल्ने उहाँ बताउनुहुन्छ । 

सङ्कटकालको समयमा भने नेपाली आर्मीका जुत्ता, ठुला गाडीका टायर सिलाएको सम्झँदै उहाँले सबै उधारोमा कारोबार हुने गरेको बताउनुभयो । जुत्ता सिलएर तीन छोरा र दुई छोरीको पढाइखर्च, विवाहखर्च धानेको उहाँले बताउनुभयो । छोराले भने यो पेसा मन नपराएको उहाँ भन्नुहुन्छ । “छोराहरू सबै कमाइको सिलसिलामा भारतमा छन् यस पेसाप्रति चाँसो नै दिँदैनन् ।” हजुरबुवा, बुवाको पालादेखि नै यो पेसा गर्दै आएको सम्झँदै उहाँले भन्नुभयो, “छोरा, नातिले भने यो पेसा छोडिसके ।” नयाँ जुत्ता बनाउन लगानी पनि अत्यधिक लाग्ने र बजारमा वन बनावटी जुत्ता, चप्पल पाउने गरेकाले पनि आफ्नो पेसा धरापमा पर्दै गएको उहाँले बताउनुभयो ।