तम्घास समाचारदाता
तम्घास, वैशाख ७ गते । गुल्मी जिल्ला अदालतमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म २७९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये पुरुषसँग सम्बन्धित ३५ मुद्दा दर्ता भएकोमा १३ मुद्दा फस्र्योट भएका छन् ।
यस्तै महिलासँग सम्बन्धित २४४ मुद्दामध्ये १७४ फस्र्योट भएको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । अदालतमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दामध्ये २० प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने, बच्चा जन्माउने र उमेर पुगेपछि (२० वर्ष) सम्बन्धविच्छेद गर्नका लागि अदालतमा आउने गरेको पन्थीले बताउनुभयो ।
अदालतमा आएका सम्बन्धविच्छेदका २० प्रतिशत मुद्दामा १४ वर्ष उमेरकै हाराहारीमा विवाह गरेको पाइएको उहाँले बताउनुभयो । यस्तै २० वर्षदेखि ३० वर्ष उमेर समूहका ६५ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा अदालतमा दर्ता हुने गरेका छन् । बाँकी १५ प्रतिशत अन्य उमेर समूहका रहने गरेको अदालतले जनाएको छ । कानुनले २० वर्ष उमेर नपुगी विवाह गर्न बन्देज लगाए पनि समाजमा अझै उमेर नपुगी विवाह गर्ने प्रचलन कायमै रहेको छ । जसका लागि स्थानीय सरकार र अन्य सरोकारवालाले सचेतना कार्यक्रम गर्नुपर्ने देखिन्छ । गुल्मी जिल्ला अदालत र स्थानीय तहले पनि सचेतनाका केही कार्यक्रम गर्दै आए पनि त्यसको प्रभावकारिता त्यति देखिएको पाइँदैन ।
गत आवमा ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गराएका थिए । पन्थीका अनुसार गत आवमा अदालतमा ३८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा पुरुषसँग सम्बन्धित ६५ र महिलासँग सम्बन्धित ३१८ मुद्दा दर्ता भएका थिए ।
मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्धविच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताउनुभयो । विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको उहाँको भनाइ छ ।