• ७ वैशाख २०८२, आइतबार

तातोपानी धाराको स्तरोन्नति

blog

तातोपानी धारामा निर्माण गरिएको स्नान भवन ।

विदुर आचार्य 

चौतारा, वैशाख ७ गते । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तातोपानी धारामा स्नान गृहसहितका सुविधा थप गरिएको छ । 

भोटेकोशी गाउँपालिकाले तातोपानी धाराको विकास र प्रवर्धन कार्यक्रम तय गरी दुई वटा पक्की स्नान गृह निर्माण गरेको हो । नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित तातोपानी धाराको स्तरोन्नति तथा स्नान गृह निर्माण गरिएको गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिनुभयो । 

“ऐतिहासिक क्षेत्रको विकास गाउँपालिका आफैँले निर्माण गरेको छ,” अध्यक्ष शेर्पाले भन्नुभयो, “गाउँपालिकाको प्रमुख क्षेत्र तातोपानी र अन्य धार्मिक, पर्यटकीय स्थलको निर्माण हाम्रो प्राथमिकतामा छ ।”

तातोपानी धारामा भोटेकोशी बाढी, विनाशकारी भूकम्पले क्षति पुगेको थियो । नेपालको उत्तरी सीमा क्षेत्रमा दुगुनागढी र तातोपानी ऐतिहासिक रूपमा परिचित छ । दैनिक सयौँ पर्यटकले स्नान गर्ने तातोपानी धारा स्थानीय सरकारले सुविधा सम्पन्न बनाएपछि स्थानीयमा खुसी छाएको छ । 

विभिन्न देशबाट तातोपानीमा नुहाउन आउने भक्तजन तथा पर्यटकका लागि धारा पुनर्निर्माण गर्दै भोटेकोशी गाउँपालिकाले थप सहज बनाएको छ । धारामा सीमित ‘बाथटप’ र खुला धारामा रहेकाले यसलाई विस्तार गरिएको गाउँपालिका उपाध्यक्ष दिक्षेन शेर्पाले जानकारी दिनुभयो । दुई वटा पक्की भवनसहित ४६ वटा ‘बाथटप’ निर्माण भएका छन् । 

“दुई वटा भवनमा बाथटप र धारा निर्माण सम्पन्न भएका छन्,” गाउँपालिका अध्यक्ष शेर्पाले भन्नुभयो, “तातोपानीमा स्वैच्छिक रूपमा सुविधासहित नुहाउन मिल्ने गरी धाराको स्तर वृद्धि गरिएको हो । गाउँपालिकाले आन्तरिक स्रोतबाट धारालाई व्यवस्थित गर्न आवश्यक स्रोत व्यवस्थापन गरेर पुनर्निर्माण गरिएको हो ।”

तातोपानी धारामा स्नान गर्न छिमेकी मुलुक चीन र भारतबाट आउने गरेको शेर्पाले बताउनुभयो । निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनीले गाउँपालिकालाई हस्तान्तरणसमेत गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले धारालाई व्यवस्थित गर्दै धारामा नुहाउन आउनेहरूका लागि चिया, कफीसहितको चमेना गृहसमेत निर्माण भएको बताउनुभयो ।