धनगढी समाचारदाता
धनगढी, वैशाख ६ गते । हिउँदे आगन्तुक चराले सिमसार छाडेका बेला वनजङ्गल र घर आसपासमा बर्खे आगन्तुक चराको चहलपहल बढेको छ । बच्चा कोरल्न र हुर्काउनका लागि विभिन्न प्रजातिका चरा नेपाल आएपछि कैलालीसहित विभिन्न जिल्लामा बर्खे आगन्तुक चराको चहलपहल बढेको हो । नेपाल आइपुगेका गर्मी आगन्तुक चराले गुँड लगाएर बच्चा कोरल्ने सुरसार गरिरहेका छन् । पछिल्लो केही दिनदेखि देखा परिरहेका स्वर्गचरीलगायतका गर्मी आगन्तुक चराले गुँड बनाइसकेका संरक्षणकर्मी देवेन्द्र महतोले बताउनुभयो । स्वर्गचरीले घरैनजिक गुँड बनाएर त्यसमा बस्न थालेको उहाँले उल्लेख गर्नुभयो ।
“यो बेला यहाँ प्रत्येक वर्ष समरमा आगन्तुक चरा आउँछन्,” महतोले भन्नुभयो, “अहिले यस्ता चराको चहलपहल छ । कैयौँ जोडी स्वर्गचरी घर आसपासमै आउँछन् र रमाउँछन् ।”हिउँदे आगन्तुक चरा तालतलैया, नदी तथा सिमसारमा रमाउने गर्छन् भने बर्खे आगन्तुक चरा भने गाउँघर र वन क्षेत्रमा रमाउने गरेको जनाइएको छ । दक्षिणतिरबाट नेपाल आउने बर्खे आगन्तुक चरामध्ये निकै आकर्षक स्वर्गचरीले गाउँघर क्षेत्रमै पनि बच्चा कोरल्ने र हुर्काउने गरेका चराप्रेमीको भनाइ छ । यसै गरी कोइली प्रजातिका कोहो कोइली, जुरे कोइली, ठुलो जुरे कोइली, बिउकुयो, पपिहा कोइली, काफल पाक्यो, कुक्कु कोइली, पूर्वी कोइली, सानो कोइली, फुस्रो सानो कोइली र हरित कोइलीले वन क्षेत्रमा बच्चा कोरल्ने गरेका छन् ।
बर्खे आगन्तुक चरा स्वर्गचरीले घरनजिक बाँस, बकाइनो, आँपलगायतमा गुँड लगाएर बच्चा कोरल्ने गरेको पाइएको वाइल्ड लाइफ फोटोग्राफर कुलराज चौधरीले बताउनुभयो । मार्चमा नेपाल आएका गर्मी सिजनका आगन्तुक चरा छ महिनासम्म नेपालमा रमाउने र बच्चा हुर्काएर फर्कने गरेको बताइन्छ । चराविद् हिरूलाल डङ्गौराले बच्चा हुर्काएर बर्खे आगन्तुक चरा अगस्टतिर फर्कने गरेको बताउनुभयो । उहाँका अनुसार यी चरा दक्षिण भारत, म्यान्मार, थाइल्यान्ड, श्रीलङ्का, दक्षिण अफ्रिकालगायतबाट नेपाल आउने गर्छन् ।
“यो बेला यी देशमा गर्मी अत्यधिक बढ्छ,” डङ्गौराले भन्नुभयो, “उता अत्यधिक गर्मी बढ्ने र नेपालको वातावरण अनुकूल रहेका कारण विभिन्न प्रजातिका चरा रमाउन, बच्चा कोरल्न नेपाल आउँछन् ।” यस्तै मुरली प्रजातिका नीलपुच्छ«े मुरली, कटुस टाउके मुरली, सेतोकण्ठे गौथली, गाजले चरी, घाँसे घाँसचरी, नीलो रबिन, चित्रक पिट्टा, गाजले पिट्टालगायतका चरा पनि नेपाल आइपुगेका छन् । यस्ता चरा नेपालको तराईदेखि मध्य पहाडसम्म पुग्ने गरेको जनाइएको छ । बर्खे आगन्तुक चराको चहलपहलले वन तथा घर आसपासको वातावरण यतिबेला रमणीय बनेको छ ।