• ६ वैशाख २०८२, शनिबार

राप्ती राजमार्ग विस्तारमा सहमति

blog

तस्बिर : राजु लामिछाने सडक विस्तार गर्न सहमतिका लागि भएको छलफल ।

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख ६ गते  । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१, राजापानीमा राप्ती राजमार्ग अन्तर्गतको सडकखण्ड विस्तारका लागि सहमति भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि सडक विस्तारको कार्य अवरुद्ध भएको थियो । राजमार्गको माछिमी–बाँफीकोट सडकखण्ड अन्तर्गतको उक्त स्थानमा रहेका दुई घर र तीन अस्थायी संरचनाका कारण सडक विस्तार रोकिएको थियो । 

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले विवादका कारण रोकिएको सडक विस्तारको काम सहमतिपश्चात् सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीलगायतको उपस्थितिमा भएको छलफलपश्चात् स्थानीयले सडक विस्तारमा सहमति गरेका हुन् । स्थानीयको असहमतिका कारण अवरुद्ध भएको सडक विस्तारको काम सबै सरोकारवालाको प्रयासका कारण सम्भव भएको उहाँले जनाउनुभयो । विवादका कारण यहाँको करिब चार सय मिटर सडक विस्तारमा ढिलाइ भएको थियो । मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष ज्ञानु चन्दले प्रशासन कार्यालयको सहजीकरणमा भएको छलफलपश्चात् सहमति भएको बताउनुभयो । उहाँले सडक क्षेत्रमा परेका दुई वटा घर र तीन वटा टहरा हटाउन स्थानीय राजी भएपछि सहमति भएको जानकारी दिनुभयो । 

सहमति अनुसार अब उक्त क्षेत्रमा नालासहित १० मिटर चौडाइ सडक निर्माणको काम धमाधम भइरहेको छ । सडक छेउमा रहेको जग्गाको क्षेत्रमा पनि सडक विस्तार गर्न सहमति भएको छ । पूर्वाधार विकास कार्यालय चौरजहारीमार्फत सडक विस्तारको काम भएको हो । राप्ती राजमार्ग अन्तर्गत माछिमी–बाँफीकोट सडकखण्डको करिब १२ किलोमिटर सडक विस्तार र कालोपत्रेको काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार माछिमीदेखि छिनखेतसम्म स्ट्रक्चर निर्माणको काम भइरहेको छ भने छिनखेतदेखि बाँफीकोटसम्मको छ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । हिमालय गौरीशङ्कर जेभीले उक्त कामको जिम्मा लिएको छ । निर्माण व्यवसायीलाई तोकिएको समयमै काम सम्पन्न गर्न ताकिता गरिएको कार्यालयले जनाएको छ ।