• ६ वैशाख २०८२, शनिबार

मजदुरी गर्दा हात रित्तो कृषि गरेपछि भरी

blog

किसान शाहीले उत्पादन गरेका स्याउका बोट ।

मुक्तिनाथ संवाददाता 

मुक्तिनाथ (मुस्ताङ), वैशाख ६ गते । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा एक जना कृषकले जग्गा भाडामा लिएर व्यावसायिक फलफूल खेती गर्नुभएको छ । स्याउ र अन्य जातका फलफूल खेतीका लागि प्रचुर सम्भावना रहेको घाँसामा वार्षिक ४४ हजार रुपियाँ भाडा तिरेर १४ रोपनी जग्गा भाडामा लिएर ४४ वर्षीय खेमबहादुर शाहीले केबी शाही फुड्स एन्ड फराबर नर्सरी फर्म सञ्चालन गर्नुभएको छ । 

जाजरकोट गाउँपालिका–२ स्थायी घर भएका शाहीले भाडामा लिएर स्याउको नर्सरी स्थापना गरी वार्षिक बिरुवा बिक्री गर्नुहुन्छ भने हलुवाबेद, नास्पती, ओखर, दैनिक उपभोग गर्ने तरकारीलगायत माटो सुहाउँदो अन्य फलफूल खेतीबाट वार्षिक १० लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुहुन्छ । कृषक शाही भन्नुहुन्छ, “अघिल्लो वर्ष पाँच हजार स्याउको बिरुवा बेचे, अहिले पनि धेरै ठाउँबाट माग आइरहेको छ ।” 

कृषक शाहीको नर्सरीबाट रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियसका साथै इटिलियन गालाफुजी जातको प्रतिबिरुवा तीन सयदेखि नौ सय रुपियाँमा बिक्री हुन्छ । कृषक शाहीको नर्सरीमा नौ हजारभन्दा बढी विभिन्न प्रजातिका फलफूलका बिरुवामा छ हजार स्याउको रहेका छन् । उहाँले १९ वर्षका लागि भाडामा लिएको जग्गामा समेत तीन सय बोट स्याउ लगाउनुभएको छ । अबको तीन वर्षमा स्याउ बिक्री गर्न मिल्छ । 

भारतको हिमाचल प्रदेशको सिम्लामा मजदुरको रूपमा साढे दुई दशकसम्म सिकेको सिपलाई तल्लो मुस्ताङको समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा नर्सरी र स्याउ खेती विस्तार सफल भएपछि स्थानीय तहले समेत तालिममा प्रशिक्षकका रूपमा लैजाने गरेका छन् । 

नर्सरी हेर्न विभिन्न जिल्लाबाट आउने किसानलाई निःशुल्क बिरुवासहित सिप सिकाउने गर्नुभएका कृषक शाहीले अर्काको घरमा मजदुरीभन्दा सिप सिकेर उद्यमी बन्न सकिने प्रेरणादायी उदाहरणसमेत दिने गर्नुभएको छ । बेनी–जोमसोम–कोरला सडक सञ्जाल सहज भएपछि पछिल्लो समय सागसब्जी उत्पादन गरी बिक्री गर्न सकिने भएकाले तल्लो मुस्ताङ क्षेत्रमा हावापानी अनुकूल हुने उत्पादनलाई स्थानीय जनप्रतिनिधिले समेत प्रोत्साहन  गरेका छन् । मुस्ताङमा समुद्री सतहबाट दुई हजारदेखि तीन हजार छ सय मिटरसम्म स्याउ उत्पादन हुन्छ । 

घर फर्किंदा हातमा सिप 

कृषक शाही १४ वर्षको कलिलै उमेरमा कक्षा ९ मा पढ्दापढ्दै परिवारलाई छलेर भारतको हिमाञ्चल प्रदेशको सिम्ला पुग्नुभयो । परिवारको आर्थिक अवस्था कमजोर हुँदा पैसा कमाउने चाहनाले भारत पुग्नुभएका ४४ वर्षीय शाहीले सिम्लामा २५ वर्षसम्म स्याउ फर्ममा काम गर्नुभयो । 

२०५१ सालमा भारत पुग्नुभएको शाही १७ वर्षपछि परिवारको सम्पर्कमा आउनुभयो । भारतबाट फर्किंदा शाहीसँग हातमा सिपबाहेक केही थिएन । कृषक शाहीले भन्नुभयो, “मैले हातमा सिप मात्रै लिएर घर फर्के, मजदुर गरेर पेट पाल्न पनि मुस्किल थियो ।” मजदुरले जीवन निर्वाह मात्रै भए पनि व्यावसायिक कृषि खेतीमा लागेपछि अहिले आर्थिक समस्या नभएको शाहीको भनाइ छ । घरपरिवारले बेपत्ता भयो भनेर सोचिरहेका बेला आफू घर फर्किएपछि खुसी महसुस गरेको बताउनुभयो । सिप भए ज्यान पाल्न सहज मात्रै नभई विभिन्न किसिमका अवसर पनि पाइने भएकाले बाँझो जमिनमा माटो सुहाउँदो उत्पादनका लागि सरकारी निकायको सहयोग आवश्यकता रहेको कृषक शाहीको भनाइ छ ।