• ६ वैशाख २०८२, शनिबार

शैलुङ पर्यटकको रोजाइमा

blog

नयाँ वर्ष २०८२ का अवसरमा शैलुङमा लागेको मेला ।

रामेछाप समाचारदाता

रामेछाप, वैशाख ५ गते । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थल शैलुङमा नयाँ वर्षमा ठुलो मेला लागेको छ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबार हजारौँले शैलुङ मेलाको अवलोकन गरेका छन् । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँलगायत विदेशी पर्यटकसमेत पुगेको शैलुङ डाँडामा स्थानीयले सांस्कृतिक कार्यव्रmम आयोजना गरेका थिए ।

सामाजिक सञ्जालमा शैलुङको प्राकृतिक सुन्दरता हेरेर नयाँ वर्ष मनाउन शैलुङ आएको रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँकी सरिता श्रेष्ठले बताउनुभयो । लहरै साना–ठुला सयथुम्का, मिनी ग्रेटवाल र चिमाल फुलेको सौन्दर्यले शैलुङ सामाजिक सञ्जालमा देखेकोभन्दा सुन्दर पाएको श्रेष्ठको भनाइ छ  । 

समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको शैलुङमा सय वटा फरक फरक आकृतिका थुम्का छन् । प्राकृतिक रूपमा बनेका थुम्का, क्षणमा कुहिरोले ढाक्ने र क्षणमै घाम लाग्ने हुँदा नजिकैको हिमाल चाँदी जस्तै टल्किएर लोभ्याउँछ । चौँरीका बथान चरेको दृश्यले शैलुङ पुग्नेलाई थप लोभ्याउँछ । 

अहिले चिमालको फूलले शैलुङ क्षेत्रको सौन्दर्य झनै बढाएको छ । शैलुङमा हरेक १२ वर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकामा समेत पर्ने शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको राम्रो उपस्थिति हुने गरेको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवा शैलुङका स्थानीय दावासाङ्बु शेर्पाले बताउनुभयो । 

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थल शैलुङ नयाँ वर्ष २०८२ सालको मेलाको हजारौँले अवलोकन भ्रमण गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार शैलुङका थुम्काबाट दोलखाको गौरीशङ्करलगायतका हिमशृङ्खला नियाल्न सकिन्छ । पुस–माघमा हिउँसँग खेल्ने, महादेव, भीमसेन शिला, तरबारलगायतका मठमन्दिरको दर्शन गर्ने र ग्रेटवाल चढ्ने अवसरका लागि दैनिक सयौँ पर्यटक शैलुङ आउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन सोमबार शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ जना र भीमसेन शिला तरबारमा २३ जना गरी ३६ जना पण्डितद्वारा लघुरुद्री सम्पन्न गरिएको छ । 

शैलुङ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शैलुङ गुम्बाका लामा गुरु पेमाहोइसेर लामाले बताउनुभयो । सय वटा थुम्का भएको प्राचीन कालदेखिकै धार्मिक एवं तीर्थस्थल शैलुङ डेढ दशकअगाडिबाट चर्चामा आएको उहाँले बताउनुभयो । शैलुङमा जनैपूर्णिमा, चैतको पूर्णिमा र नयाँ वर्षमा ठुलो मेला लाग्ने गरेको छ । शैलुङको सय वटा थुम्कामा ऋषिमुनिले तपस्या गरेको किंवदन्ती रहेको छ ।