ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ३ गते । जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन गरी सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू निर्माणका लागि पर्यटन मन्त्रालयमा योजना प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
पर्वत बेनीबाट सुरु हुने जलजला इको ट्रेकमा पालिकाका विभिन्न ग्रामीण वस्ती र प्राकृतिक तथा धार्मिक स्थलहरू समावेश गरिएको छ । इको ट्रेक मार्फत ग्रामीण पर्यटन प्रवर्धन, स्थानीय मौलिक कला संस्कृतिको संरक्षण, जैविक विविधताको संरक्षण, स्थानीय उत्पादनको प्रवर्धन गरी जीवनस्तरमा सुधार गर्दै आर्थिक विकास गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘इको ट्रेकको सम्भाव्यता अध्ययन र नापजाँच गरी तीन करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) बनाई पर्यटन मन्त्रालयमा बजेट माग गरेका छौं । बजेट प्राप्त भएपछि इको ट्रेकमा आवश्यक पूर्वाधार निर्माणमा गाउँपालिका जुट्छ ।’’
पर्वत बेनीदेखि सुरु भएर माझफाँटको दरबार, पूर्णगाउँ, बाँसखर्कको मालगाउँ, लोप्रे, फलामे डाँडा, कालञ्जर हम्पाल, जलजला, सिर्पु, तारे, देउराली, डडुवाचौर धाइरिङ भुमेठाकुर हुँदै मिलनचोकसम्मका ग्रामीण बस्तीहरूलाई इको ट्रेकले जोड्ने छ । इको ट्रेकले यस क्षेत्रमा पर्ने प्राकृतिक एवम् धार्मिक स्थल, कृषि पर्यटन र कला संस्कृतिको प्रवर्धनमा टेवा पुर्याउने पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।
यसैगरी, इको ट्रेकको अर्को रुट देउराली, हलजुरे, बनौं, लुप्राङ, नाग्लीबाङ हुँदै खनियाघाटसम्मका ग्रामीण बस्ती, प्राकृतिक एवम् धार्मिक स्थलहरूलाई जोड्ने पालिका अध्यक्ष आचार्यले बताउनुभयो । इको ट्रेकका विभिन्न स्थानहरूमा पार्क, चौपारी, पदमार्ग र होमस्टे निर्माणका लागि प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष आचार्यले जलजला इको ट्रेक प्राकृतिक सुन्दरता, ग्रामीण बस्ती, मौलिक कला संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्यता, ग्रामीण जीवनशैली र हिमालको अवलोकनका लागि निकै रोमाञ्चक ट्रेक हुने विश्वास व्यक्त गर्नुभयो । इको ट्रेकमार्फत ग्रामीण पर्यटनको प्रवर्धन गर्दै स्थानीयवासीको आयआर्जनमा टेवा पुर्याउने प्रमुख उद्देश्य रहेको पालिका अध्यक्ष आचार्यको भनाइ छ ।
म्याग्दी र पर्वतका पर्यटकीयस्थललाई समेटेर निर्माण गरिएको करबाकेली इको ट्रेक र अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गसँग पनि जलजला इको ट्रेक जोडिने भएकाले पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण हुने देखिएको छ ।
यसैगरी, जलजलादेखि महरेडाँडा हुँदै घोडेपानी पुनहिल पुग्ने पर्यटकका लागि पनि इको ट्रेक उपयोगी हुनेछ । कालिगण्डकीको तीरदेखि पहाडको टुप्पो, ग्रामीण सुन्दर बस्तीहरू, हिमालको सुन्दर दृश्य र जङ्गलहरू इको ट्रेकमा पर्ने भएकाले पदयात्रीहरूले निकै रमाइलो अनुभूति गर्न पाउने छन् ।
इको ट्रेकमा पर्ने फलामेडाँडाबाट धवलागिरि, निलगिरि र अन्नपूर्ण हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । साथै कालिगण्डकी नदी, म्याग्दी, पर्वत र बागलुङका बस्तीका साथै सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।