काठमाडौँ, वैशाख २ गते । देशका १२ सङ्घीय अस्पतालले चैत महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि भने अनुसार मन्त्रालयले गत चैत पहिलो साता सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गर्नुभएको थियो ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले सङ्घीय अस्पतालमा तालिका अनुसार काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । चैत महिनाभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौँ महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । यसैगरी, अस्पताल अन्तर्गतको ट्रमा सेन्टरले सिटी स्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको हो । यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसिभी सुरु गरेको छ ।
कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा सुरु गरेको छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेको छ ।
तनहुँको दुलेगौंडास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा सुरु गरेको छ । भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पिएफती सेवा आरम्भ गरेको छ ।
कोशी अस्पताल विराटनगरले निःसन्तान उपार सेवा आइभिएफ सुरु गरेको छ । सेवाको स्वास्थ्य मन्त्री पौडेलले सुरुवात गर्नुभएको थियो ।
डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमूना लिने गरी एकीकृत ल्याब नमूना सङ्कलन सुरु गरेको छ । वीरगञ्जको नारायणी अस्पतालले एनआइसियुमा विद्युतीय चिकित्या प्रतिवेदन इउमआर लागु गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ सुरु गरेको छ ।
भेरी अस्पताल नेपालगन्जले चैत महिनाभित्र आइसियूमा दुई शय्या तथा बर्न वार्डमा दुई समेत थप गरी आठ शय्या विस्तार गरेको छ ।
चैतभित्रै एमसिएच भवन तथा ल्याब मेसिन थप्ने बताएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा सुरु गर्न सकेका छैनन् । ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयमा सम्प्रेषण गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।