• २ वैशाख २०८२, मङ्गलबार

कन्याममा रमाउँदै विभिन्न देशका राजदुत

blog

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा आउनु भएका विभिन्न देशका राजदुत कन्याममा सामूहिक तस्विर खिचाउँदै । तस्बिरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम) चैत ३१ गते । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदुत इलामको सूर्योदय नगरपालिका आउनु भएको छ ।  परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदुत सूर्योदय नगरपालिकामा आउनु भएको हो । 

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदुत सहित ४५ जना भन्दा बढी  उच्च तहका पदाधिकारी आइतबार कन्याम आइपुग्नु भएको हो । 

उहाँहरुलाई नगरपालिकाले कन्याममा स्वागत गर्दै अन्तु लगेको छ । कन्याममा परराष्ट्र मन्त्री डा. राणासहितका राजदुतलाई पंञ्चे बाजासहित स्वागत गरिएको थियो । उक्त अवसरमा कन्याममा विभिन्न जातजातीको भेषभूषामा सजाएर कन्यामको लभडाँडासम्म घोडामा यात्रा गराइएको थियो । जातीय पोशाषकमा सजिएर राजदुतले कन्यामको परिक्रमा गर्नुभयो । कन्यामको स्वागतपछि उहाँहरुलाई आइतबार अन्तुमा बसोबासको व्यवस्था गरिएको छ । 

मन्त्रालयले वार्षिक रुपमा विभिन्न देशका नेपालमा रहनु भएका राजदुतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । 


नयाँ वर्ष २०८२ को अवसरमा अन्तुमा सूर्योदयको दृश्यावलोकन गराइने कार्यक्रम छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तुमा चिया टिपाइको अनुभव गराउने, अन्तु पोखरीमा फिसिङ (माछा मार्ने) चिज टेष्टिङ, अलैँची टेष्टिङ गराउने र इलाममा उत्पादन भएको चियाका भिन्नि जातको परीक्षण गराउने कार्यक्रम छ । 

कार्यक्रममा इजिप्ट, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीटजल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदुत आउने कार्यक्रम तय भइसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिनुभयो । 

स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भीड लाग्ने अन्तु र कन्याममा राजदुतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । राजदुतको उक्त भ्रमण अनौपचारिक भएको नगरपालिकाले जनाएको छ । 


नयाँ वर्ष २०८२ को अवसरमा सूर्योदय नगरपालिका आउनु भएका विभिन्न देशका राजदुत कन्याममा घोडचडढीमा रमाउँदै ।