• १ वैशाख २०८२, सोमबार

प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

blog

झापा, चैत ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो । उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । 

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

दुई बिघामा १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता भएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याकाे आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थित हुनुहुन्थ्यो । रासस