• ६ जेठ २०८१, आइतबार

कृषि क्षेत्रको प्रवद्र्धनले मात्र अर्थतन्त्र समृद्ध हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २३ गते । अर्थमन्त्री जनार्दन शर्माले कृषिक्षेत्रको प्रवर्धनबाट मात्रै अर्थतन्त्र समृद्ध बन्ने भन्दै आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथामिकतामा राखिएको बताउनुभयो ।अहिलेसम्म जीविकोपार्जनका लागि मात्रै गरिएको कृषि प्रणालीलाई यान्त्रिकीकरण र व्यवसायीकरण गर्नसके अर्थतन्त्रमा कृषिको प्रतिफल प्राप्त हुने उहाँको भनाइ थियो ।

नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आइतबार राजधानीमा आयोजित छैटौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री शर्माले आयातित खाद्यान्नका कारण देशको अर्थतन्त्र र उपभोक्ताको स्वास्थ्य बिग्रिएको भन्दै कृषिजन्य उत्पादन बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

बजेटमा कृषिक्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको भन्दै उहाँले कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बीउ, तालिम र प्रविधि, मेसिनरी सामानमा किसानको पहुँच बढाइने बताउनुभयो ।

किसानलाई खेतीयोग्य सबै बाँझो जमिनको उपयोग गर्न विशेष योजना ल्याउनुका साथै आन्तरिक उत्पादन बढाउन भूमिगत तथा सतह सिँचाइ विस्तार गर्ने योजनासमेत बजेटमा समेटिएको भन्दै उहाँले बजेटको कार्यान्वयनमा सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

अबका दिनमा कृषि क्षेत्रमा लाग्नेले दुःखेसो व्यक्त गर्नुपर्ने अवस्था आउन नदिने र किसानले गर्व गर्ने दिन नआएसम्म अर्थतन्त्र समृद्ध हुन नसक्ने बताउनुभयो ।सङ्घका अध्यक्ष खोजराज कटुवालले कृषि मेसिनरी, औजार तथा प्रविधिसम्बन्धी व्यवसाय गर्ने व्यवसायीको गतिविधिलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न तथा समस्याको समाधान गर्दै मुलुकलाई कृषिमा यान्त्रिकीकरणमार्फत आधुनिकीकरण र व्यवसायीकरण गर्दै समग्र आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले संस्था स्थापना भएको बताउनुभयो ।

संस्थाले देशभर छरिएर रहेका कृषि यान्त्रिकीकरण र कृषि प्रविधिसँग आबद्ध व्यवसायीलाई सङ्गठित गर्दै, व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्दै, व्यावसायिक सुशासन कायम गरी व्यवसायको प्रवर्धनको पहल गर्दै आएको उहाँले बताउनुभयो ।