• १ वैशाख २०८२, सोमबार

अन्नपूर्ण गाउँपालिकाको कृषि एम्बुलेन्स प्रयोगविहीन

blog

प्रयोगविहीन भएको कृषि एम्बुलेन्स । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन भएको छ । गाउँगाउँमा किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्‍याउन गाउँपालिकाले गत आर्थिक वर्षमा सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा एम्बुलेन्स खरिद गरेको थियो । 

एम्बुलेन्सले गाउँ गाउँमा कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म ताजा अवस्थामै पुर्‍याउने र बजारबाट मल, बिउ, दाना समेतका सामग्री बोकेर कृषकको बारी र गोठमा पुर्‍याउने उद्देश्यसहित गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स सेवाग्राही नपाएपछि प्रयोगविहिन भएको हो । 

अन्नपूर्ण गाउँपालिकाले कृषि तथा पशुपक्षी बजारीकरणका लागि खरिद गरेको चिस्यान कायम राख्ने एसी जडित कृषि एम्बुलेन्स ढुवानीयोग्य कृषि उत्पादन नभएपछि एम्बुलेन्स गाउँपालिका केन्द्र पोखरेबगरमा अलपत्र परेको छ । एम्बुलेन्स १३ टन भारवाहन क्षमताको चिस्यान प्रविधियुक्त बनाइएको छ ।  

पालिकाले ०८१ साउन ६ गते जारी गरेको ‘कृषि एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१’ मा भौगोलिक विकटताको कारण बजार पहुँच अभाव भएका कृषिजन्य उत्पादन खेर गएर कृषकले आर्थिक क्षति बेहोर्नु परेकोले कृषिउपजलाई सहज ढुवानीको पहुँच पुर्‍याएर क्षति न्यूनीकरण गर्दै व्यवसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको उल्लेख छ । 

गाउँपालिकाका कृषि विकास  शाखाका अधिकृत श्यामशरण कुर्मीले कृषि एम्बुलेन्स प्रयोगविहिन भएको भन्ने होइन सिजन अनुसार किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म पुर्‍याउने काम भएको बताउनुभयो । जुन रुपमा एम्बुलेन्स सञ्चालन हुनुपर्ने हो त्यो अनुसार सञ्चालनमा आउन भने नसकेको उहाँको भनाइ छ । सिजन अनुसारका कृषि उत्पादन मात्र अहिले कृषि एम्बुलेन्सबाट ढुवानी गरिएको उहाँको भनाइ छ ।   

उहाँले भन्नभुयो, ‘‘कृषि उत्पादन बजार सम्म पुर्‍याउनका लागि किसानले फोन गरेमा तत्काल पठाउने गरी तयारी अवस्थामा राखेका छौं । सुन्तला र आलु उत्पादनको सिजनमा राम्रोसँग नै सञ्चालनमा आएको हो । तर गाउँपालिकाले सोचे अनुसार सञ्चालनमा भने ल्याउन सकिएको छैन ।’’

एम्बुलेन्स खरिदका लागि गत आर्थिक वर्ष २०८०-०८१ मा सङ्घीय सरकारबाट प्राप्त भएको १९ लाख ८० हजार र गाउँपालिकाको १७ लाख ३२ हजार रुपियाँ खर्च भएको छ । २५ लाख ७० हजार रुपियाँमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा दश लाख ४२ हजार रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।