• १ वैशाख २०८२, सोमबार

राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान

blog

सन्तोष राउत

सोलुखुम्बु, चैत ३१ गते । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान गरिएको छ । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो ।

सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट खेलाडीका रूपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रूपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो । 

एक कार्यक्रमको आयोजना गरी शनिवार नेपाल सरकारका रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । सम्मानपछि खेलाडी राईले खेल क्षेत्रबाट देशलाई चिनाउन लागिपर्ने बताउनुभयो ।  

त्यस अवसरमा भ्वाइस अफ नेपाल सिजन–५ का सेकेन्ड रनर अप गायक तथा सङ्गीतकार कुमार प्रयास राईलाई पनि नेपाली सङ्गीतमा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको छ ।