• १ वैशाख २०८२, सोमबार

८० लाख खर्चेको शीतभण्डार अलपत्र

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत ३१ गते । दक्षिणी मोरङको रतुवामाई नगरपालिका वडा नं.४ झुर्कियामा ३ वर्ष अघि निर्माण सम्पन्न भएको शीतभण्डार(कोल्ड स्टोर) अझै सञ्चालनमा आउन सकेको छैन । 

रतुवामाईको. २, ३ र ४ न. वडामा तरकारीको व्यावसायिक खेती गर्ने किसानको मागलाई सम्बोधन गर्दै नगरपालिका र वडा नं. ४ को संयुक्त लगानीमा शीतभण्डार स्थापना  गरिएको थियो । ३ वर्ष अघि अघिल्ला जनप्रतिनिधिहरूकै पालामा निर्माण सम्पन्न भएको शीतभण्डार निर्माण ८० लाख रुपियाँ खर्च भएको छ । २५ टन क्षमताको शीत भण्डार सञ्चालनमा नआउँदा किसानले तरकारी तथा फलफूल जोहो गरेर बिक्री गर्न पाएका छैनन् । वडा नंं. ३ महादेवका तरकारी किसान प्रमोद गनगाईले भन्नुभयो – आलु राख्न दमक वा विराटनगर पुर्‍याउनुपर्थ्यो । शीतभण्डार बनेपछि उत्पादन बढाएँ । तर, तीन वर्ष भयो । शीतभण्डार सञ्चालनमा आएको छैन । 

किसानले कहिले कुलरको अभावमा त कहिले सञ्चालन कार्यविधि अभावमा शीतभण्डार सञ्चालन नभएको जवाफ पाउने गरेका छन् । अर्का किसान वासुदेव मण्डलले भन्नुभयो– गाउँ मै शीत भण्डार बन्ने भएपछि उत्साही भएर आलु र प्याजको उत्पादन गर्न थप जग्गा लिजमा लिएँ । तर, ३ वर्ष भयो । गाउँको शीतभण्डारमा राख्न पाएको छैन । 

वडा नम्बर ४ का वडाध्यक्ष महावीरप्रसाद गनगाईले शीत भण्डार सञ्चालन कार्यविधिको अभावमा शीतभण्डार सञ्चालनमा आउन नसकेको बताउनुभयो । सुरुमा जेनरेटर र कुलर थिएन । त्यो पनि व्यवस्था भयो । अहिले कार्यविधि छैन । कति पैसा लिने भन्ने निर्णय भएपछि सञ्चालनमा आउँछ ।उहाँले पटक पटक कार्यपालिका बैठकमा कुरा राख्दा पनि सुनुवाइ नभएको बताउनुभयो । 

नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो –नगरपालिकाले सञ्चालन गर्न सक्ने अवस्था छैन निजी कम्पनी वा ब्यावसायीलाई ठेक्कामा दिने नगरको तयारी हो । तर नीतिगत रूपमा नगरको तयारी पुगेको थिएन । अहिले सम्पूर्ण कानुनी आधार तय गरी सकेका छौँ । अब चाँडै सञ्चालन हुन्छ । तर ठेक्का लागेन भने के गर्ने भन्ने जवाफ हामीसँग पनि छैन ।