विजयकुमार साह
ढल्केबर, चैत ३१ गते । धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीका बासिन्दाले खानेपानीको चरम समस्या भोगिरहेका छन् । सुक्खा मौसम सुरु भएसँगै धारामा पानी आउन छाडेपछि यहाँको जनजीवन प्रभावित बनेको हो ।
दुधपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जितबहादुर घिसिङले खानेपानीको एक मात्र विकल्पका रूपमा रहेको धारामा पानी आउन छाडेकाले अहिले यहाँ खानेपानीको चरम अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुहान नै सुकेपछि धाराबाट पानी आउन छाडेको छ । दुधपानी बस्तीका करिब १६० घरधुरीले पानीको अभाव झेलिरहेका छन् ।’’ उहाँले भन्नुभयो, “ट्याङ्कीदेखि सात सय मिटर उत्तरमा रहेको खानेपानीको मुहान चैतको पहिलो सातादेखि सुक्न थालेको हो । पहिले धारामा चौबिसै घण्टा पानी आउने गथ्र्यो । अहिले मुस्किलले एक घण्टा पनि पानी आउँदैन ।’’
दुई दिनअघि वर्षा भएकाले मुहानमा पानी जम्मा भएपछि धारामा पानी आउने समय केही बढेको अध्यक्ष घिसिङको भनाइ छ । उहाँले यस समस्याको दीर्घकालीन समाधानका लागि बस्तीनजिकै रहेको रातु नदीमा तटबन्ध निर्माण गरी त्यहाँबाट लिफ्टिङ प्रणालीमार्फत पानी बस्तीमा ल्याउने योजना बनाइएको जानकारी दिनुभयो ।
स्थानीय प्रेमबहादुर कार्कीले चुरे क्षेत्रको माथिल्लो बस्ती बाहुनमारा पनि खानेपानीको चर्को समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खा मौसम सुरु हुनासाथ धारामा आउने पानी सुक्छ । त्यसपछि हामीलाई पानीको जोहो गर्न निकै गाह्रो पर्छ ।’’
उहाँका अनुसार बस्तीमा पानी अभावका कारण पशुपालन र खेतीपातीमा समेत असर परेको छ । खेत सुक्खा छन् । पशुका लागि जोहो गर्ने घाँस उमार्न गाह्रो भइरहेको छ । खानेपानी नहुँदा महिलाको दिनको धेरै जसो समय पानी खोज्नमै बित्ने गरेको छ ।”
वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत तथा प्रकृति संरक्षण अभियन्ता सुरेश शर्माले पछिल्लो समय चुरे क्षेत्रमा पानीका मुहान सुक्दै जाने क्रम तीव्र बनेको बताउनुभयो । मौसममा आएको परिवर्तन, वन विनाश, चुरे क्षेत्रको दोहन तथा विकास निर्माणका गतिविधिले पानीको सतह घट्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार यस वर्ष हिउँदमा पर्याप्त वर्षा नभएकाले जमिनमुनि पानीको सतह घटेर मुहान सुक्ने क्रम बढेको छ ।