• १ वैशाख २०८२, सोमबार

प्रभावित स्थानीयले पाए मुआब्जा

blog

मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँध स्थल ।

अमरराज नहर्की

तनहुँ, चैत ३१ गते  । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित बासिन्दाले मुआब्जा पाएका छन् । प्रभावित क्षेत्र जलविद्युत् बाँधको किनारको बस्तीका बासिन्दाले मुआब्जा पाएका हुन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए । मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन् । 

बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णय अनुसार १४ परिवारको जग्गा तथा पाँच व्यक्तिका घर अधिग्रहणका लागि मुआब्जा निर्धारण गरे अनुसार वितरणको काम पूरा भएको गौतमले बताउनुभयो । प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार सो ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रुपियाँ प्रदान गरिएको छ । 

जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६५२ रुपियाँ र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार ३१५ रुपियाँ वितरण गरिएको प्रशासनले जनाएको छ । ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो । 

मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए ।  मुआब्जा दिलाउनका लागि धेरै समय लागेको र ढिलै पनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।