जानु पाण्डे
कपिलवस्तु, चैत ३१ गते । बर्सौंदेखि आफ्नै भूमिमा घर बनाएर बसेका भए पनि कानुनी रूपमा स्वामित्वबाट वञ्चित कपिलवस्तुका सयौँ घरधनीले बल्ल लालपुर्जा हात पारेका छन् ।
चोरी र डकैतीबाट जोगिन तथा सुरक्षाका लागि एउटा क्षेत्रमा गुजुप्प घर बनाएर उनीहरू बस्दै आएका थिए । २०२८ सालमा नापी प्रव्रिmया सुरु हुँदा नापी प्रव्रिmयामा ती बस्तीलाई एउटै कित्तामा समेटी ‘गाउँ ब्लक’ नामकरण गरिएको थियो । स्थानीय भाषामा ‘मिनाहा डिही’ भनिँदै आएका बस्तीका नागरिकले पाँच दशकपछि धनीपुर्जा पाएका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कपिलवस्तुका तीन पालिकाका एक हजार ६६६ घरमूलीलाई लालपुर्जा वितरण गर्नुभएको छ । शिवराज नगरपालिका–३ मा १८७ र विजयनगर गाउँपालिकामा ४३ गाउँका ६३०, वाणगङ्गा नगरपालिका पटना मोतीपुरका ११ र बुद्धभूमि नगरपालिका–४ र ५ का ८३८ जनालाई पुर्जा वितरण गरिएको छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बर्साैंदेखि बसोवास गर्दै आएका तर जग्गाको पुर्जा नभएका नागरिकलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको बताउनुभयो । भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई भूमि आयोगले जग्गाधनी बनाउने उहाँले स्पष्ट पार्नुभयो । जङ्गल फँडानी गर्ने, जमिन मिच्ने, सडक कब्जा गर्ने कार्यलाई रोेक्ने प्रयाससमेत भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले जनतालाई सेवा प्रदान गरी आर्थिक र विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो । २०७१ सालपछि नापी भए पनि पुर्जा नपाएका त्यस्ता बस्तीका जनतालाई स्वामित्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विजयनगर गाउँपालिकाको ७ वडाका ४३ वटा गाउँबस्तीका जनताले लालपुर्जा पाएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । नापी कार्यालय कपिलवस्तुले महाराजगन्ज नगरपालिकाको सात सय, मायादेवी गाउँपालिकाका एक हजार पाँच सय र कपिलवस्तु नगरपालिकाका दुई सय घरधनीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको कार्यालय प्रमुख जनकबहादुर भण्डारीले जानकारी दिनुभयो ।