• ३१ चैत २०८१, आइतबार

धनञ्जय सन्तती नामक पुस्तक विमोचन

blog

पुन्य रिजालद्वारा लिखित धनञ्जय गोत्रका विभिन्न थरहरुको उत्पत्तिको इतिहास समेटिएको धनञ्जय सन्तती तथा विन्दबाशिनी पूजा विधि नाम दुई पुस्तक विमोचन गरिँदै ।

काठमाडौं, चैत ३० गते । पुन्य रिजालद्वारा लिखित धनञ्जय गोत्रका विभिन्न थरहरुको उत्पत्तिको इतिहास समेटिएको धनञ्जय सन्तती तथा विन्दबाशिनी पूजा विधि नाम दुई पुस्तक एक कार्यक्रमबीच शनिवार विमोचन गरियो । 

महर्षि धनञ्जय गोत्रीय समाज नेपालले आयोजना गरेको  कार्यक्रममा पण्डित तिलक रिजाल (हुमागाईं) ले उक्त दुई पुस्तक विमोचन गर्नु भएको थियो । 

पुस्तक विमोचनका क्रममा रिजालले मानिसको गोत्रीय परिचय जैविक परिचय भएको र सो गोत्र अनुसारका विभिन्न थरहरु भनेको सामाजिक परिचय भएको बताउनुभयो ।

प्राचीन ऋषिहरुका सन्ततिले आफ्ना आदि पुरुष ऋषिका नाममा जैविक परिचयका लागि गोत्रको परम्परा शुरु गरेको र पछिल्ला दिनहरुमा मानिसको पेशा वासस्थान आदिका आधारमा थरहरुमा विभाजन भएको जानकारी दिनुभयो । 


कार्यक्रममा उक्त पुस्तकको समीक्षा गर्दै कृषि विज्ञान विषयका अध्यापक यादव हुमागाईंले पुन्य रिजालले आफ्नो पुस्तकमा मानव सभ्यताको उत्पत्तिदेखि भौगोलिक अवस्थितिलगायतका विषय र विभिन्न ऐतिहासिक दस्तावेजहरुलाई समेटिको बताउनुभयो । 

अर्का समीक्षक गोरखापत्रका पूर्व प्रधान सम्पादक कमल रिजालले धनञ्जय गोत्र विभिन्न थरको उत्पत्ति र उनीहरुका भौगोलिक विस्तारका विषयलाई पुस्तकमा समेटिएको बताउनुभयो । 

महर्षि धनञ्जय गोत्रीय समाज नेपालका अध्यक्ष पूर्व सचिव युवराज भूषाल, उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रे, बाशुदेव गुरागाईलगायतले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा हुमागाई समाज नेपालले प्रकाशन गरेको नयाँ वर्ष २०८२ को क्यालेण्डर पनि सर्वाजनिक गरिएको थियो ।