• ३० चैत २०८१, शनिबार

क्लासिकमा ज्येष्ठ महिलाका सिर्जना प्रदर्शन

blog

प्रदर्शनीको अवसरमा आयोजित कार्यक्रममा सहभागी कलाकार र कलाकृति । तस्बिरः गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३० गते।  क्यानभासमा उतारिएका २४ जना ज्येष्ठ महिलाका भावनालाई प्रदर्शनीमा राखिएको छ। अभिव्यक्तिको सशक्त माध्यम मानिने चित्रकलामा कुनै अनुभव नभएका ६५ देखि ९३ वर्ष उमेरका ज्येष्ठ महिलाको एक दिने  कार्यशालामा तयार पारिएका भावनालाई ललितपुर चाकुपाटस्थित क्लासिक ग्यालरीमा ‘सृजित सपनाहरु’ शीर्षक दिएर शनिबारदेखि प्रदर्शनीमा राखिएको हो। 

एक फिटका क्यानभासमा  क्लासिक रंग माध्यममा ती चित्र बनाइएका छन्। प्रदर्शनीमा फरक क्षमताका पाँच कलाकारको समेत चित्रकला राखिएका छन्। त्यस्तै, केही अघि आयोजित मलेसियन महिला कलाकारसहितको कार्यशालामा तयार पारिएका १३ महिला कलाकारका चित्रकृति समेत प्रदर्शनीमा राखिएका हुन्। 

क्लासिक ग्यालरीको सञ्चालिका सरिता डंगोलले ज्येष्ठ महिलाका मनका भावनालाई सिर्जनात्मक रुपमा क्यानभासमा उतार्ने निकै पुरानो सपना पूरा भएको बताउनुभयो।


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित सो प्रदर्शनीको  शुभारम्भ समाजसेवी कुलाल डंगोल, मोतीशान्ति शाक्य र कलाकार  लोक चित्रकारले संयुक्त रुपमा गर्नुभएको हो। प्रदर्शनी २०८२ वैशाख ५ गतेसम्म सञ्चालन हुने छ।