• ४ साउन २०८१, शुक्रबार

वैदेशिक रोजगारबारे सचेतना

blog

सचेतनामूलक कार्यक्रममा सहभागी जनप्रतिनिधि । तस्बिर : नवीनशिशिर विक

बागलुङ समाचारदाता

बागलुङ, जेठ २३ गते। वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउने उद्देश्यले बागलुङका जनप्रतिनिधिलाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिसँग वैदेशिक रोजगार व्यवस्थापनका विविध पक्षबारे अन्तक्र्रिया तथा छलफल गरेर जनप्रतिनिधिलाई सचेतना गराएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले जानकारी दिनुभयो ।

जसरी पनि विदेश छिर्ने चाहनाले सामाजिक सङ्गठन भत्किँदै गएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो । “विदेश मोहले सामाजिक तथा पारिवारिक संरचनामा विचलन आएको छ,” उहाँले भन्नुभयो, “विदेश जाने प्रयोजनका लागि हुने अदालती विवाह, सम्बन्ध बिच्छेद, हाडनातामा सम्बन्ध कायमले सामाजिक जीवनमा नकारात्मक प्रभाव पारेको छ ।” 

जनप्रतिनिधिले आफ्नो नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा जाने सम्भावित युवालाई विदेश जानुपूर्व, प्रक्रियाको चरण र गएपछि गर्नुपर्ने सुरक्षा सावधानीका विषयमा सचेत गराउने, विदेशबाट फर्कने युवाको सामाजिकीकरण, विदेशमा सिकेको सीप र प्रविधिका स्थानीय स्तरमा उपयोग गर्न सकिने विषयमा जानकारी दिइएको थियो ।

प्रारम्भिक र आवश्यक सूचनाको अभावले वैदेशिक रोजगारमा जाने व्यक्तिले ठूलो समस्या भोग्नुपरेको हुँदा स्थानीय तहले सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट वैदेशिक रोजगारलाई थप मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सकिने उहाँको भनाइ थियो । 

राज्यको सबैभन्दा तल्लो र बलियो सङ्गठन वडा कार्यालय भएको वैदेशिक रोजगारमा जाने सक्ने सम्भावित युवालाई सीप तालिम, आवश्यक सूचना प्रवाह गर्नुपर्नेबारे जनप्रतिनिधिलाई सचेत गराइएको थियो । पछिल्लो समय भिजिट भिसामा जाने र काम गर्ने प्रवृत्तिले वैदेशिक रोजगारमा थप जटिलता सिर्जना भएको सहसचिव पोखरेलले उल्लेख गर्नुभयो ।

भिजिट भिसामा काम गर्नेलाई समस्या हुँदा राज्यले सहयोग गर्न कठिन हुने उहाँको भनाइ थियो । वैदेशिक रोजगार बाध्यताको उपज भएको हुँदा वैदेशिक रोजगारलाई व्यवस्थित गराउन स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।