राजकुमार भट्टराई
खोटाङ, चैत २९ गते । सुनकोसी नदीमा आएको बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते सुनकोसीमा आएको बाढीले बगाएको पुल पुनर्निर्माणका लागि ३५ करोड बजेट सुनिश्चित भएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुनर्निर्माणका लागि अर्थमन्त्रालयले बजेट सुनिश्चित गरेको जनाएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ कोसीको बाढीले बगाएको थियो । उक्त ठाउँमा पुनः पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थमन्त्रालय समक्ष माग गरेको थियो । माग गरे अनुसार अर्थमन्त्रालयले बजेट सुनिश्चित गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, सचिव केशव शर्मा र महानिर्देशक रामहरि पोखरेलले जानकारी दिएको संविधानसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । पुलको ‘डिजाइन एन्ड बिल्ड’ वा ‘मन्त्रालय आफैँले डिजाइन’ गर्ने टुङ्गो लाग्न बाँकी छ । पुलको डिजाइनको टुङ्गो लागेपछि ठेक्का खुल्ने बताइएको छ ।
पुल बन्ने चर्चाले जिल्लावासीलाई केही उत्साहित बनाएको छ । दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी सहर जाने र आउने छोटो दूरीको बाटो हो । तर बाढीले पुल बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले पक्की पुल बगाएपछि फोक्सिङटारमा गत पुस २७ गतेदेखि बेलिब्रिज राखिएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राखिएको हो ।
निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । त्यही कारण स्वयं सम्बन्धित निर्माण कम्पनीले नै पुल निर्माण गर्नुपर्ने बहस पनि चलेको थियो ।
ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नु परेको थियो । तर बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको छ । फोक्सिङटारमा पुल बन्नुअघि पनि बेलिब्रिज राख्ने र झिक्ने गरिएको थियो ।