सिराज खान
नेपालगन्ज, मङ्सिर २९ गते । अतिनै जोखिमपूर्ण यात्रामा रहेका ५२५ जना महिला र युवतीहरूको यहाँस्थित नेपाल भारत सीमाको जमुनाहा नाकाबाट उद्धार गरिएको छ । शान्ति पुनःस्थापना केन्द्रले गत आर्थिक वर्षमा ३९९ जना र चालु आवको हालसम्म १२६ जना गरेर ५२५ जनाको उद्धार गरेको जनाएको छ ।
शान्ति पुनःस्थापना केन्द्रका संयोजक सम्झना चदाराका अनुसार मानव बेचबिखनका लागि नेपालगन्ज नाका निकै संवेदनशिल नाका बनेको छ भने यहाँबाट हरेक वर्ष धेरै ठुलो सङ्ख्यामा महिला तथा युवतीहरू रोजगारी वा अन्य कुनै बहानामा जोखिमपूर्ण तरिकाले भारतका विभिन्न ठाउँमा पुगिरहेका छन् ।
उहाँले गत आर्थिक वर्षमा जोखिमपूर्ण यात्रामा रही नियन्त्रणमा लिइएका ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको र ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्याइएको बताउनुभयो। सो अवधिमा संस्थाले १२ हजार २३३ जनालाई परामर्श दिएको जनाएको छ । यी मध्ये नौ हजार ३९४ जनालाई गत आर्थिक वर्षमा र दुई हजार ८३९ जनालाई चालू आर्थिक वर्षको हालसम्म परामर्श दिइएको संयोजक चदाराले जानकारी दिनुभयो ।
नाकामा चेकजाँचमा कडाई बढाउँदै शङ्का लागेमा सोधपुछ र रोक्ने कार्य तिव्र पारिएपछि अन्य साइड नाका र नयाँ नयाँ तरिकाले महिला र युवतीहरूलाई सीमा पार गराउने कार्य भएको शान्ति पुनःस्थापना केन्द्रले जनाएको छ । शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले पछिल्लो समयमा नयाँ प्रविधिको प्रयोग गरेर दलालहरूले महिला र युवतीहरूलाई जोखिमपूर्ण रोजगारीका लागि सहमत गराउने गरिएको पाइएको जनाउँदै संस्थाले गरिरहेको काम तथा उद्धार र पुनःस्थापना संयन्त्रबारे जानकारी गराउनुभयो ।
शान्ति पुनः स्थापना केन्द्रले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसार पसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल भारत जमुनाहा नाका माइती नेपालले पनि जोखिमपूर्ण रोजगारीमा जान लागेका र मानव बेचबिखनको जोखिममा रहेका नेपाली महिला तथा युवतीहरूको उद्धार गर्दै आएको छ ।