रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर २९ गते । गुल्मीको सदरमुकाम तम्घासको निकै व्यस्त देखिने सहिद चोकस्थित कल्भर्टको पुन: निर्माण गर्न थालिएको छ । रेसुङ्गा नगरपालिकाको वडा १ र ८ लाई जोड्ने कल्भर्ट जीर्ण बन्दै गएपछि अहिले भत्काएर पुनः पक्की कल्भर्ट निर्माण गर्न लागिएको हो ।
संघीय सरकारको सशर्त अनुदानको ४० लाख रुपियाँ लागतमा कल्भर्ट निर्माणको लागि रेसुङ्गा नगरपालिकाले ठेक्का आह्वान गरेको थियो ।
ठेक्कामार्फत् खड्गदेवी विल्डर्स एण्ड सप्लायर्स प्रालिले भ्याटसहित ३७ लाख ७४ हजार १८७ रुपियाँ ३१ पैसा लागतमा सात मिटर लम्बाईको कल्भर्ट निर्माण गर्नेगरी सम्झौता गरेको हो । २०८३ असार १५ गतेभित्र कल्भर्ट निर्माणको कार्य सम्पन्न गर्ने सम्झौतामा भएता पनि दुई महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्नेगरी काम अगाडी बढाएको निर्माण व्यवसायी खुम खत्रीले बताउनुभयो । उहाँका अनुसार गुणस्तरसहित कल्भर्ट निर्माणका लागि स्काभेटर–एक, जेसिबि–एक, टिप्पर–एक र दैनिक कामदार–१५ जना प्रयोग गरिएको छ ।
खोलामा काम गर्नुपर्ने त्यसैमा स्थानियहरुले सबै फोहोरो ढलमा मिसाएर खोलामा फाल्ने बानी भएकाले फोहोरोको कारणले काम गर्न अलि कठिनाइ भएको उहाँले बताउनुभयो । “निरन्तर काम भइरहेको समयमा साना–साना कुरामा स्थानियले विवाद गरिदिनु भएन ।” निर्माण व्यवसायी खत्रीले भन्नुभयो, “साँगुरो ठाउँ छ । मान्छेहरुले अटेर गरी काम गर्ने ठाउँमा हिँडी रहने कारणले काम गर्नमा कठिनाई समेत हुने गरेको छ ।” सकेसम्म मानिसहरु आवतजावत गर्दा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्नुभयो । सबैको सकारात्मक सहयोग भएमा दुई महिनामा कल्भर्ट निर्माण सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
यता, रेसुङ्गा नगरपालिकाले यहाँ कल्भर्ट निर्माणको काम भइरहेको हुँदा सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । साना सवारीसाधनलाई अर्जुन किराना पसल–होटल सौर्य इन हुँदै पुरानो बजार सडक र रमाइलो होटल–महेन्द्र मावि–टेलिकम चोक हुँदै चिदिचौर सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
ठुला सवारी साधनलाई मिलन चोक–पुतली बजार भानुचोक–पुरानो बजार हुँदै एसबिआई बैंक–प्रशासन कार्यालय गेट र सेतो गुराँस–धागीथूम–बाख्रेछेँडा–छापटोला–खानीगाउँ चोक–चिदिचौर हुँदै प्रशासन कार्यालय गेट प्रयोग गर्न रेसुङ्गा नगरपालिकाले आग्रह गरेको छ ।