सुर्खेत समाचारदाता
सुर्खेत, चैत २९ गते । कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा वाल पेन्टिङको क्रेज बढ्दै गएको छ । होटेल, रेस्टुरेन्ट, कफी सप, विद्यालय तथा घरमा पर्यटकीय क्षेत्र, महान् व्यक्तित्व, कलासंस्कृतिको वाल पेन्टिङ गराउने क्रम बढ्दै गएको छ । पेन्टर पनि वाल पेन्टिङको क्रेज बढेकामा खुसी छन् ।
अर्डर लिँदै, चित्र बनाउँदै गर्न थालेका छन् । नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सङ्घीय उपाध्यक्ष सुभासकुमार शाक्यले वीरेन्द्रनगरमा वाल पेन्टिङको क्रेज बढ्दै जानुलाई सकारात्मक रूपमा लिएको बताउनुभयो दुई महिनामा मात्रै करिब ५० वटा वाल पेन्टिङ गराइसकेको उहाँको भनाइ छ । उहाँका अनुसार एउटा वाल पेन्टिङको मूल्य न्यूनतम पाँच हजारदेखि बढी पर्दछ । विद्यालयमा पनि वाल पेन्टिङको माग छ । घर, होटेलमा सजाउनका लागि वाल पेन्टिङको आवश्यकता महसुस गरेर खोजी हुन थालेको छ । कोहलपुर–सुर्खेत खण्डका बबईनजिक, भेरी पुललगायतका सार्वजनिक स्थानमा राराताल, से फोक्सुन्डो, कुभिन्डेताल, राउटे समुदाय, त्रिपुरासुन्दरी मन्दिर, काँक्रेविहारको वाल पेन्टिङ गरिएको छ । वाल पेन्टिङले एकातिर कलाकारले रोजगार पाएको र अर्कोतिर पर्यटकीय क्षेत्रलगायत कलाको प्रचारप्रसार पनि हुने भएकाले दोहोरो फाइदा हुने उहाँको भनाइ छ । प्रदेशमा आर्टिस्टहरू सङ्गठित भएको दुई वर्ष भएको छ । यो अवधिमा दुई महिलासहित २८ जना कलाकार आबद्ध छन् । ती कलाकारले पनि अर्डर अनुसारको वाल पेन्टिङ, व्यक्ति चित्र कोर्ने काम गर्दै आएका छन् ।