अत्तरिया समाचारदाता
अत्तरिया, चैत २८ गते । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
बुधबार बिहान बसेको प्रदेश विपत् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
जयगढ बजारका घरमा राखेको ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा बजारमा सात करोड ५४ लाख रुयियाँभन्दा बढी क्षति भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले भन्नुभयो, “मङ्गलबार साँझ जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरूप तत्कालका लागि ५० लाख रुपियाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत उपलब्ध गराउने निर्णय भएको छ । सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर सो मानवीय सहायता रकम वितरण गर्ने गरेर ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको हो, यसका साथै प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने निर्णय गरेका छौँ ।”
प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्न सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हिरा सार्कीलाई राहत सामग्रीसहित जयगढ पठाउने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री शाहले आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकारसम्मलाई राहत, पुनर्निर्माणमा सहयोगको अपिलसमेत गर्नुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मङ्गलसेन नगरपालिकाको दमकलको प्रयासपछि लामो समय लगाएर जयगढको आगलागी नियन्त्रणमा लिइएको थियो ।
नेपाली कांग्रेसले एक लाख सहयोग गर्ने
साँफेबगर समचारदाताका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले एक लाख सहयोग गर्ने भएको छ ।
नेपाली कांग्रेस अछामका सहसचिव दिनेशकुमार स्वाँरका अनुसार जयगढका आगलागी पीडितलाई एक लाख रुपियाँ सहयोग गरिने भएको हो । आगोले जयगढ बजार तहसनहस भएकाले राहतका लागि नेपाली कांग्रेस अछामले सहयोग गरेको सहसचिव स्वाँरले बताउनुभयो । विपत्को घडीमा सबैले सहयोग गर्ने उहाँले सबैलाई आग्रह पनि गर्नुभएको छ ।
आगलागीबाट जयगढ बजारमा रहेका १० वटा कच्ची घर, १५ वटा टिनले बनेका कच्ची घर र दुई वटा पक्की घर गरेर २७ वटा घर तथा पसल जलेर नष्ट भएका छन् ।