काठमाडौँ, चैत २७ गते । युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो–हलिउडले आफ्नो स्थापनाको ३०औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ ।
युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा स्थापना गर्नुभएको हो ।
‘‘तीन दशकको यात्रालाई हामी भव्य रूपमा स्मरण गर्दैछौँ । मे १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइने तयारी गरिएको छ,’’ सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भन्नुभयो ।
महर्जनका अनुसार वार्षिक उत्सवमा अमेरिकाका विभिन्न राज्य, दक्षिण कोरिया, अस्टेलिया, क्यानडा र नेपालबाट तेक्वान्दो खेलाडी तथा खेलकर्मीको सहभागिता रहने छ । सुरुको दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुनेछ ।
तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्डमास्टरहरूले सेमिनारमा सबैलाई अपडेट गर्ने छन् र ब्ल्याक वेल्टदेखि माथिका डान टेस्ट परीक्षा समेत हुने छ । विभिन्न अवार्ड पनि प्रदान गरिने छ ।