काठमाडौँ, चैत २७ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ११ औँ राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन गर्ने भएको छ ।
परिषद्ले आफ्नो स्थापनाको ३४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११ आैँ शिखर सम्मेलन गर्ने भएको हो ।
परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीले सम्मेलन चैत ११ देखि ३० गतेसम्म तीन दिन चल्ने जानकारी दिनुभयो । जोशीका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू नीति, निर्माताहरू र विकास साझेदार निकायहरूको सहभागिता रहने छ ।
यस वर्षको सम्मेलनमा विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषयमा केन्द्रित रहने परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले जानकारी दिनुभयो ।
यसका साथै स्वास्थ्य बिमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञको पलायन, जनसङ्ख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्ष मानसिक रोग, सर्ने तथा नसर्ने रोगको र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका तड्कारो विषयवस्तुमा केन्दीत भएर छलफल र प्रस्तुतीकरण गरिने भएको छ ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनको नारा “स्वास्थ्य, जलवायु र जनसङ्ख्यामा परिवर्तन : दिगो र समता मूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली ” रहेको छ ।
सम्मेलनमा एक हजार भन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तराष्ट्रिय सहभागीको उपस्थित रहने छ । सम्मेलनमा ७८ वटा मौखिक र ११५ वटा पोस्टर प्रस्तुतीकरण रहने छ ।