• १३ पुस २०८२, आइतबार

अन्नपूर्णमा मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण

blog

अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा निर्माणधिन आयोजना स्थल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । आइएमई समुहको लगानीमा हाइड्रो सपोर्ट प्रा.लिले करिब १३ अर्ब रुपियाँ लागतमा जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । 

आयोजनाको सिभिल ठेकेदार रसुवा मल्टी जेभीका इन्जिनियर विद्य्तजङ्ग राउतले सिभिल तर्फको काम सुरुवाती चरणमा रहेको जानकारी दिनुभयो । ६ महिनाअघि आयोजना स्थलमा ठेकेदार परिचालित भएर सम्पूर्ण व्यवस्थापकीय कामहरू सकेर सिभिल कन्स्ट्रक्सनको काम सुरु गरिएको उहाँको भनाइ थियो।    

अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित सुकेबगरमा बाँध, इनलेट र नारच्याङ पुल नजिकैको अडिट टनेल निर्माण थालेको इन्जिनियर राउतले जानकारी दिनुभयो । 

आयोजनाको बाँध रहने सुकेबगरमा पावर कल्भर्टको काम सकेर अहिले हामीले सडक डाइर्भसनको काम अगाडी बढाएका छौं, इन्जिनियर राउतले भन्नुभयो, ‘‘बेनी–जोमसोम सडक मुनीबाट टनेल लैजानुपर्ने भएकाले हामीले सडक डाइभर्सनको कामलाई अगाडि बढाएका छौं । सडक डाइभर्सनको काम सकेपछि हेडवक्र्स तर्फको पूर्वाधार निर्माणको काम सुरु हुन्छ।’’

नारच्याङ पुल नजिक चार सय पचास मिटर अडिट टनेल खन्नुपर्नेमा अहिलेसम्म १३ मिटर खनिएको र अबको ३÷४ महिनाभित्र अडिट टनेलको काम सकेर मुख्य टनेल खन्ने काम सुरु हुने इन्जिनियर राउतले जानकारी दिनुभयो ।   

आयोजनाका अनुसार दानास्थित सुकेबगरबाट चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 

विद्युत् गृह देखि आउटलेटको हेड एक सय चालिस मिटर अग्लो छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत् गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत बनाइने भएको छ । आयोजनाबाट उत्पादित विद्युत् नौली बगरभन्दा छ किलोमिटर माथि दानामा रहेको कालीगण्डकी कोरिडोर प्रशारण लाइनको  २२० केभी क्षमताको सब स्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिने छ । 

आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार निर्माणधिन आयोजनाको स्थलगत अनुगमन गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । आयोजना निर्माणमा स्थानीय गाउँपालिका र यहाँका सर्वसाधरणहरूको साथ र सहयोग भएकाले कुनै अवरोध बिना आयोजना निर्माणको काम अगाडि बढेको उहाँको भनाइ थियो । 

यसैगरी अध्यक्ष ढकालले यसै आयोजनाको ८६ मेगावाट क्षमताको क्यास्केड आयोजना निर्माणको प्रक्रिया समेत चाँडै नै अगाडी बढाइने जानकारी दिनुभयो।