प्रतीक पौडेल
रुपन्देही, चैत २७ गते । गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः नियमित सुचारुको माग राख्दै संयुक्त रूपमा आन्दोलनको घोषणा गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) ले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेका हुन् ।
आन्दोलनका लागि सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीको संयोजकत्वमा संयुक्त सङ्घर्ष समिति गठन गरिएको छ । आन्दोलनको कार्यक्रम घोषणा गर्दै ज्ञवालीले आफूहरूले शान्तिपूर्ण रूपमा गर्ने गरी आन्दोलनका कार्यक्रम तय गरेको बताउनुभयो । विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले आन्दोलन स्थगित गरे पनि सरकारले गरेको प्रतिबद्धता पूरा नगरेको उहाँले बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले राज्यले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनको रूपमा जस्तै प्रयोग मात्र गरेको बताउनुभयो । लुम्बिनी प्रदेशका सम्पूर्ण निजी क्षेत्रलाई समेटेर अघि बढ्ने उहाँको भनाइ छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणमा जिल्लामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरूसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने ।
त्यस्तै सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरूसँग अल्टिमेटम दिँदै विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने, कालोपट्टि बाँधेर दबाब मूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्याली प्रदर्शन तथा बजार परिक्रमा गरिने कार्यक्रम रहेको छ ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध खालका आन्दोलनका कार्यक्रम तय गरिएको छ ।