• ५ वैशाख २०८२, शुक्रबार

सभापति लामिछाने पक्राउविरुद्ध रास्वपाद्वारा मानव अधिकार आयोगमा निवेदन दर्ता

blog

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्नुहुँदै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ ।

बुधबार पार्टीले काठमाडौँमा पत्रकार सम्मेलन गरी सभापति लामिछानेको पक्राउ गैरकानुनी र मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै आयोगमा निवेदन दिएको जानकारी दिएको हो ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानुनी हर्कत भएको बताउनुभयो । उहाँले बिना अनुमति हातहतियारसहित प्रहरीको ठुलो सङ्ख्या सभापति लामिछानेको शयन कक्षसम्म पुग्नु असभ्यताको पराकाष्ठा भएको जिकिर गर्नुभयो ।

लामिछानेले आफैँ गिरफ्तारी दिने बताए पनि प्रहरीले धरपकड र जबरजस्ती बल प्रयोग गरेको महामन्त्री बुर्लाकोटीको भनाइ छ । उहाँले प्रहरीले मृत्युदण्डको समयमा सोधिने अन्तिम इच्छा के छ जस्ता असामान्य र आपत्तिजनक प्रश्नहरू गरेको बताउनुभयो । उहाँले जिल्ला अदालतको काम कारबाहीमा अनुचित हस्तक्षेप गरी उच्च अदालतको आदेश कार्यान्वयन गर्नु सभापति लामिछानेको स्वच्छ अनुसन्धानविरुद्ध रहेको बताउनुभयो ।

प्रहरीले आततयी रूपले पक्राउ गरिएको भन्दै उहाँले स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक र वैयक्तिक गोपनीयताको हनन गरेको आरोप लगाउनुभयो ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले राज्य संयन्त्रले मानव अधिकार हनन गरेको भन्दै राज्यको कदमको पार्टीले भर्सना गरेका बताउनुभयो ।