• ४ वैशाख २०८२, बिहिबार

लालझाडी अस्पताल सञ्चालनमा समस्या

blog

लालझाडीमा निर्माण भएको आधारभूत अस्पताल । तस्बिर : नीराजन परियार

चौमाला समाचारदाता 

चौमाला (कैलाली), चैत २७ गते । जनशक्ति र बजेट अभावका कारण कञ्चनपुरको लालझाडीमा निर्माण भएको अस्पताल सञ्चालनमा ल्याउन समस्या भएको छ । अस्पताल भवन निर्माणको काम पूरा भएर सो भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको भए पनि जनशक्ति र बजेट अभावका कारण अस्पताल सञ्चालनमा ल्याउन समस्या भएको हो ।

निर्माण कम्पनीले अस्पताल भवन डेढ वर्षअघि नै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो तर बजेट अभावका कारण आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण जडान नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन । लालझाडी गाउँपालिका–३, नन्दगाउँमा १० शøयाको आधारभूत अस्पताल भवन निर्माण भएको छ ।

कञ्चनपुरको दुर्गम र मध्यवर्ती क्षेत्रमा रहेको लालझाडी गाउँपालिकाका स्थानीयले सामान्य उपचारका लागि पनि अन्यत्र जानुपर्ने अवस्था रहेको छ । यहाँ स्थानीयलाई सामान्य उपचारका लागिसमेत धनगढी, महेन्द्रनगर, भारतलगायत धाउनुपर्ने बाध्यता छ ।

अस्पताल भवन भए पनि सञ्चालनमा नआउँदा आफूहरू सामान्य उपचारका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता भएको स्थानीय प्रशान्त रानाले बताउनुभयो । अस्पताल सञ्चालनका लागि एक्सरे, भिडियो एक्सरे मेसिन, बेड, इसिजी मेसिनलगायत आवश्यक परेकोमा त्यस्ता उपकरण बजेट अभावका कारण जडान नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताउनुभयो ।  

भवन बनिसकेपछि आवश्यक जनशक्तिका लागि केही पदमा विज्ञापन खोलेको भए पनि आधारभूत उपकरण नै जडान नभएपछि अस्पताल सञ्चालन गर्न नसकिएको र कर्मचारी छनोट प्रक्रियासमेत स्थगित गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारसँग जनशक्ति र उपकरण माग गर्दै यसका लागि डेलिकेसनसमेत बुझाएको छ तर अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

“अस्पताल भवन निर्माणको काम जिल्लामै सबैभन्दा अगाडि पूरा गरेका हौँ । २०८० पुसमा निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरेको सो अस्पताल जनशक्ति र उपकरण अभावमा सञ्चालनमा आउन सकेको छैन,” प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो । 

उपकरण र जनशक्तिका आवश्यक बजेट सङ्घ र प्रदेश सरकारले उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमा ढिलो भएको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको भनाइ छ । आफू पटक पटक उपकरणका लागि सङ्घ र प्रदेशमा धाउँदा पनि कुनै काम नभएको उहाँको गुनासो छ । १० करोड रुपियाँ बजेट छुट्याइएको सो अस्पतालको राजेन्द्र रुद्रावती सिद्धनाथ जेभी कम्पनीले छ करोड पाँच लाख दुई हजार ५० रुपियाँमा ठेक्का सम्झौता गरेर निर्माण गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । २०७७ साउन २८ गते ३९६ र पुस १२ गते २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । निर्णय भएको चार वर्ष बितिसक्दा पनि अधिकांश अस्पतालको निर्माण कार्य अझै अघि बढ्न सकेको छैन ।

सरकारले डडेलधुराका पाँच, बैतडीका नौ, डोटीमा आठ, दार्चुलामा सात, बझाङमा १०, अछाममा आठ, बाजुराका नौ, कैलालीमा १० र कञ्चनपुरमा आठ वटा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । यस प्रदेशमा ९५ प्रतिशत अस्पताल निर्माणको काम अघि नबढेको पाइएको छ । जग्गा प्राप्ति, बजेट अभाव, स्रोत सुनिश्चित नहुनुलगायत कारण यस प्रदेशमा अस्पताल निर्माणले गति लिन नसकेको जनप्रतिनिधिको भनाइ छ ।