• २५ चैत २०८१, सोमबार

सरकारले गरेका कामको प्रचार गरौँ : महामन्त्री थापा

blog

अधिवेशन उदघाटन सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित कांग्रेस नेताहरू ।

गोकर्ण पौडेल 

तुलसीपुर, चैत २४ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गरेका राम्रो कामको प्रचार गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरमा नेपाल थारू संघको नगर र क्षेत्रस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राम्रा कामको प्रचार नहुँदा जनतामा असन्तुष्टि बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, "स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य  बिमा, वन विकास, आप्रवासन, भौतिक पूर्वाधारका क्षेत्रमा सकारात्मक काम भएपनि प्रचार हुन सकेको छैन, गाउँगाउँमा पुगेर प्रचार गर्नुहोस् ।" महामन्त्री थापाले संविधानमा देखिएका त्रुटि सच्याउन, संशोधन गर्नका लागि सरकारभित्र र बाहिर रहेका दलहरुसँग बारम्बार छलफल संवादमै रहेको बताउनुभयो । 

उहाँले नागरिकको जीवनस्तर उकास्न नीतिगत सुधार र नेताहरूको आचरणमा परिवर्तन जरुरी रहेको जोड बताउनुभयो । थापाले धार्मिक स्वतन्त्रताको समर्थन गर्दै धर्म परिवर्तन गराउने कार्य रोकिनुपर्ने र वैदिक सनातन धर्मसहित सबै संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्ने बताउनुभयो । 

महामन्त्री थापाले भूमि र गुठीसम्बन्धी समस्यालाई संविधान र कानुन अनुसार तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कांग्रेसले विगतमा हिंसाबाट देशलाई मुक्त गरी संविधान सभामार्फत शान्तिको मार्गमा डोर्‍याएको स्मरण गर्दै थापाले सरकार सञ्चालनमा स्वच्छ नियत र जनसन्तुष्टिलाई प्राथमिकता दिइने बताउनुभयो ।