गार्डेन राई
सोलुखुम्बु, चैत्र २४ गते । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि सगरमाथा क्षेत्र जोड्ने हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेनी मोटरेबल पुलको निर्माण कार्य ८०/८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
माप्य दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भटराईले सङ्घ, प्रदेश र गाउँपालिका गरी त्रिपक्षीय लागत साझेदारीमा हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेणी मोटरेबल पुलको निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई वटा पुल निर्माणका लागि एकमुस्ट नौ करोडमा ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । हुङ्गरा राखोला मोटरेबल पुल निर्माणका लागि सङ्घीय अनुदान र गाउँपालिकाको अनुदान रकम रहेको छ भने त्रिवेणी मोटरेबल पुलका लागि गाउँपालिकाको अनुदान रकम र प्रदेशको समपूरक अनुदानबाट निर्माण भइरहेको छ ।
२०८० माघमा रिडाक नेपाल प्रालिसँग सम्झौता भई हाल निर्माण कार्य भइरहेको मोटरेबल पुलको आर्थिक वर्ष ०८१/८२ को असारभित्र निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको रिडाक नेपाल प्रालिका इन्जिनियर पवनकुमार शाहीले जानकारी दिनुभयो ।
हुङ्गरा र त्रिवेणी मोटरेबल पुल निर्माण पश्चात् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सदरमुकाम सल्लेरीदेखि सिधा सडकमार्ग हुँदै सगरमाथा क्षेत्र खुम्बु प्रवेश गर्न सहज हुने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो । वर्षात्का कारण खोला बढेर सवारी आवत्जावत्मा हुने समस्या अन्त्य हुनका साथै नियमित सवारी सञ्चालनमा सहज हुने अध्यक्ष राईको भनाइ छ ।
स्थानीयको माग र आवश्यकता अनुसार सडकको माध्यमबाट स्थानीयको कृषि उपज उत्पादन, व्यापार, व्यवसाय र आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई बताउनुहुन्छ ।