सन्तोष सुवेदी
पाख्रीबास, चैत २४ गते । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ ।
भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो । विश्वमा आएको कोभिड–१९ महामारीका कारण केही वर्ष मन्दीको सामना गर्नु परे पनि पछिल्लो समयमा यसले पहिलाकै जस्तो गति लिएको उहाँको भनाइ छ ।
प्रायः बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मी बढ्न थालेपछि पर्यटकको सङ्ख्या बाक्लो हुने होटेल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लीलाराज लावती बताउनुहुन्छ । उहाँका अनुसार भेडेटारसहित आसपासका क्षेत्रमा सानाठुला गरी करिब दुई सय होटेल सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय प्रदेश सरकारले पनि यस क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न सहयोग गर्दै आएको छ । यस ठाउँमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी यस्ता पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले पूर्वाधार निर्माणमा बजेट छुट्याएर काम गर्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो ।
अहिले साँगुरीगढी गाउँपालिकामा रहेको नाम्जे थुम्कीमा जनजाति पार्क निर्माण अगाडि बढेको छ । गाउँपालिकाकै ठुलो पार्कका रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको हो । थुम्कीस्थित नाम्जेमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा एक करोड ३५ लाख रुपियाँको लागतमा जनजाति पार्क निर्माण सुरु गरेको थियो ।
हालसम्म प्रदेश सरकारले एक करोड ४४ लाख रुपियाँ पार्कमा खर्च गरी निर्माणको काम अगाडि बढाइरहेको छ । पार्कमा एक सभा हल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि स्तम्भ बनाउने काम भएको छ । गाउँपालिकाको बजेटले पार्क निर्माण सम्पन्न गर्न असम्भव भएकोले प्रदेश सरकारले काम गरिरहेकोे साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।
प्रदेश सरकारले नाम्जेमा पार्क निर्माणका लागि आव २०७८/७९ मा ७५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । यस्तै चालु आव २०७९/८० मा १० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । त्यसो त अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नैपर्ने विश्वको १२ औँ गन्तव्य सूचीमा नाम्जेलाई राखेको छ तर पार्क निर्माणका लागि तीन करोड ७७ लाख ८७ हजारसहित अन्य बौद्ध गुम्बा, अतिथिगृह र शौचालय गरी करिब आठ करोड रुपियाँ लागत अनुमानको डिपिआर तयार रहेको छ ।
यस्तै पूर्वकै प्रमुख पर्यटकीय स्थल भेडेटारबाट दुई किमी दक्षिण–पूर्वमा रहेको नाम्जे गाउँ मगर संस्कृति र होमस्टेले परिचित छ । साँगुरीगढी–६ स्थित नाम्जे प्राकृतिक रूपमा निकै आकर्षक र मनमोहक रहेको छ । नाम्जेलाई अमेरिकाको सञ्चार माध्यम सिएनएनले सन् २०१२ मा विश्वको १२ अनौठा गन्तव्य स्थलमध्ये आठौँ नम्बरमा राखेको थियो । नाम्जेमा रहेको होमस्टे भेडेटारबाट करिब चार किलोमिटर र समुद्री सतहबाट करिब एक हजार ५८५ मिटरको उचाइमा पर्छ । यस क्षेत्रबाट सूर्योदय र तराईका अधिकांश जिल्लाको मनमोहक दृश्य देख्न पाइन्छ । सडकमार्ग हँुदै सजिलै यहाँसम्म आइपुग्न सक्ने भएकाले पनि यो क्षेत्र पर्यटकको मुख्य आकर्षकको केन्द्र बन्दै गएको हो ।
भेडेटारबाट रबि–राँके सडकमार्ग अन्तर्गत पर्छ, मगर जातिको सामुदायिक होमस्टे हो । यहाँ ९५ प्रतिशत मगर जातिको मात्र एकल बसोबास रहेकोे छ । सिजन अनुसार उसिनेको आलु, इस्कुसको जरा, मुन्टाको तरकारी र रायो साग, मकैको भात, लोकल कुखुराको मासु, बङ्गुरको सेकुवा, खसीबोकाको मासुका परिकारका साथै स्थानीय मौलिक हुर्रा नाच पनि प्रस्तुत गर्ने गरिन्छ ।
यहाँका होमस्टे व्यवसायीले मासिक करिब एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्मको आम्दानी हुने गरेको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताउनुभयो । यस होमस्टेलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आव २०७५/७६ को उत्कृष्ट सामुदायिक होमस्टेसमेत घोषणा गरेको थियो । यहाँ घुम्न आउने पर्यटकलाई होमस्टेमा बास बस्दा न्यूनतम शुल्कमा सेवा दिन सकिने होमस्टे सञ्चालक बताउँछन् । प्रतिव्यक्ति एक छाक खाना र एक रात सुतेको न्यूनतम २७५ रुपियाँदेखि अधिकतम चार सय रुपियाँसम्म लिने गरिएको छ । होमस्टे सञ्चालन गरी आर्थिक उपार्जन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले अवलोकनमा आएको र यहाँ आफ्नै गाउँघरमा खाए जस्तै अर्गानिक खाना पाइएको आन्तरिक पर्यटक बताउँछन् ।
होमस्टेमा विशेष गरी तराईका झापा, मोरङ, सुनसरी, उदयपुरलगायतका देशका विभिन्न ठाउँबाट पर्यटक घुम्न र बस्न आउने गरेका छन् । प्रायः हप्ताको शुक्रबार र शनिबारका साथै बिदाको दिन बढी मात्रामा होमस्टेमा पर्यटक बस्न आउने गरेका छन् । नाम्जे होमस्टेमा आउने पर्यटकले नाम्जेको आत्मा बस्ने घर, सूर्याेदय बौद्ध विहार, जनजाति पार्क, नाम्जे थुम्कीडाँडा वरिपरि रहेका टावर, नाम्जेडाँडाबाट तराईका समथर भूभागलगायत अवलोकन गर्न सक्छन् ।