• ३१ वैशाख २०८१, सोमबार

रगतको शुल्क बढ्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २२ गते । रगत प्राप्ति गर्दा लाग्ने शुल्क बढाइएको छ तर बढाइएको शुल्क सरकारी स्वास्थ्य संस्थामा लागू नहुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ शुल्कबारे जानकारी गराउँदै अब प्रतियुनिट रगतको शुल्क ८१० देखि अधिकतम एक हजार ६४० सम्म कायम गर्न सकिने जनाएको छ । यसअघि प्रतियुनिट रगतको शुल्क ५२५ रुपियाँ मात्र तोकिएको थियो । 

यसअघि ब्लड ब्यागको शुल्क ८० रुपियाँ तोकिएकोमा अब १५० रुपियाँ तिर्नुपर्ने छ । यस्तै ट्रान्सफुजन सेट ३० रुपियाँ तोकिएकोमा अब एकसय रुपियाँ कायम गरिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले रगतको शुल्क बढेको नभई समायोजन मात्र गरेको बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालमा बढेको शुल्क लागू नहुने जानकारी दिनुभयो । उहाँले रगतलाई चाहिने आवश्यक सामग्री बढेर आएकाले शुल्क बढाउनु परे पनि यो निजी अस्पतालमा रहेका रक्त सञ्चार केन्द्रलाई मात्र लागू हुने बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचनामा भने वृद्धि भएको रगतको शुल्क निजी स्वास्थ्य संस्थामा मात्र लागू हुने उल्लेख छैन । 

प्रयोगशालाका सूचना अधिकारी गुप्ताले निजी अस्पतालमा रहेका रक्त सञ्चार केन्द्रले मनपरी शुल्क लिने गरेको जानकारी दिँदै मनपरी शुल्कलाई नियन्त्रण गर्न खोजिएको बताउनुभयो । यसैबीच नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतको शुल्क बढाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदाताले निःशुल्क उपलब्ध गराएको रगतमा कुनै शुल्क लिन नहुनेमा झनै शुल्क बढाएर रक्तदातामाथि अन्याय गरेको बताउनुभयो ।