• १६ चैत २०८०, शुक्रबार

ताप्लेजुङमा पाँच दिनसम्म औद्योगिक तथा पर्यटन मेला

blog

ताप्लेजुङ, जेठ २२ गते । ताप्लेजुङमा पहिलो पटक औद्योगिक तथा पर्यटन मेला हुने भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गर्न लागिएको हो । 

जिल्लास्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा यही जेठ २६ देखि ३० गतेसम्म पाँच दिन मेला सञ्चालन हुने छ । सदरमुकाम फुङ्लिङमा आयोजना हुने मेलाको हाल तीब्र तयारी भइरहेको आयोजकले जनाएको छ । पर्यटकीय जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने र जिल्लामा उत्पादन हुने घरेलु सामग्रीको प्रदर्शन साथै प्रचारप्रसार गर्नेसमेत उद्देश्यले मेलाको आयोजना गरिएको पर्यटन व्यवसायी हर्कराज गुरुङले बताउनुभयो । 

महासङ्घका सचिवसमेत रहनुभएका गुरुङले स्थानीय उत्पादन अर्थात घरेलु उत्पादनको बजारीकरण गरी संलग्न उद्यमीहरको आयआर्जन वृद्धि गर्न साथै प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिने उद्देश्यलेसमेत मेलाको आयोजना गरिएको बताउनुभयो । औद्योगिक तथा पर्यटन मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरुको करिव दुई दर्जन स्टल राखिने छ भने कृषि, जडीबुटी, वन, पशु तथा पर्यटनसम्बन्धी जानकारी साथै अवलोकनको व्यवस्था मिलाइने छ । 

यस्तै मौलिक तथा स्थानीय खाद्य महोत्सव, खाँडी, अल्लो, ढाका तथा स्थानीय भेषभूषाको प्रदर्शनी रहने छ । पर्यटन तथा औद्योगिक फोटो प्रदर्शनी, औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन, चोयाको डोको र गजेरा बुन्ने सीपमुलक तालिम, प्रदेशस्तरी औद्योगिक छलफल तथा अन्तक्र्रियासमेतको आयोजना गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । 

उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश १, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, फुङ्लिङ नगरपालिका लगायतको सहयोग रहेको आयोजकले जनाएको छ । मेलाको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा साङ्गीतिक कार्यक्रम हुने पनि महासङ्घका अध्यक्ष भारतीले जानकारी दिनुभयो ।  

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।