• ११ पुस २०८१, बिहिबार

पार्टीबाटै बालेनहरूको खोजी

blog

स्थानीय तह निर्वाचनमा काठमाडौँका नागरिकले राजनीतिक पार्टीका क्रियाकलापप्रति सन्तुष्ट नभएको सन्देश मतमार्फत व्यक्त गरेका छन् । नागरिकबाट फरक खालको नतिजा अपेक्षित हुनु र परिणाम तदनुकूलको आउनु परिवर्तनप्रतिको सङ्केत हो । यो परिणामले व्यवस्था र व्यवस्थापनप्रतिको असन्तुष्टि मात्र नभई राजनीतिक संस्कार र चरित्रलाई पनि चुनौती दिएको छ ।

नेतृत्वले आश्वासनअनुसार ‘पर्फर्मेन्स’ देखाउन नसक्दा निर्वाचन परिणाम स्वतन्त्र उम्मेदवारको पक्षमा गयो । देशको अन्य कतिपय पालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन् तर काठमाडौँ विजयले महŒवपूर्ण र साङ्केतिक अर्थ बोकेको छ । कतिपय ठाउँमा पार्टीले आफ्नो सही मूल्याङ्कन नगरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर आक्रोश पोख्ने काम भएको छ । त्यही आक्रोशमै विजयी भएकाहरू भोलि फेरि तत्तत् पार्टीमा फर्कनेछन् ।

काठमाडौँ महानगर प्रमुखमा विजयी बालेन साहको अवस्था अलि फरक छ । उहाँ आजसम्म दलीय राजनीतिमा आबद्ध भएको जानकारी छैन । दलीय राजनीतिले शासन गरिरहेका बेला एउटा स्वतन्त्र व्यक्तिले जितेर के गर्न सक्ला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । उपप्रमुखसहित ३२ वडाका अध्यक्ष दलबाट विजयी भएकाहरू छन् । प्रमुखलाई तिनीहरूबाट सहयोग नहुने टिप्पणी हुन थालेका छन् । दलको नाममा विजयी बने पनि वडाध्यक्षहरू आम नागरिकका प्रतिनिधि हुन् । महानगरमा प्रवेश गरेपछि स्वतन्त्रको हैसियत हुन्छ, हुनुपर्छ । दलीय टोपी र चस्मा फुकाल्नैपर्छ, नगरवासीको हितका लागि । 

एकथरीलाई लागेको छ, बालेनले जितेपछि महानगरको कायापलट हुन्छ । यो पनि भ्रम हो, एउटा व्यक्तिले मात्र केही गर्न सक्दैन । ठूला दलको सहयोग लिनैपर्छ । अहिले हामीले चाहेजस्तो सामाजिक र राजनीतिक परिवर्तन चुनावबाट मात्र आउँदैन । यसका लागि ठूलो क्रान्ति नै चाहिन्छ । यथास्थितिलाई बल पुग्ने परिणामले परिवर्तन कसरी सम्भव हुन्छ ? चुनाव भनेको एउटाले जित्ने र अर्कालाई हराउने मात्र हो । स्थानीय तहको अघिल्लो निर्वाचनमा एमालेले बढी सिट जित्यो, यस पटक कांग्रेसले, हामीले चाहेको परिवर्तनसँग यसको तात्त्विक भिन्नता छैन । बालेन यहीबीचबाट निस्केको एउटा विम्ब मात्र हो । 

स्वतन्त्र रूपमा जिते पनि यहाँ दलीय आवरणले ढाकिदिने परम्परा छ । बालेन विद्यार्थी आन्दोलनमा वामपन्थी हुनुहुन्थ्यो भन्ने चर्चा भए । हो, विद्यार्थीकालमा धेरै जनाको झुकाव वामपन्थीप्रति हुन्छ । सबैथोक नबुझेको व्यक्ति भावनात्मक हुन्छ, ऊ बुझेर वामपन्थीको पछि लागेको हुँदैन । अरूको परिचालनमा हिँडेपछि स्वाभाविक रूपमा वामपन्थी हुने नै भयो, जब उसले बुझ्न थाल्छ अनि वामपन्थी झुकावबाट मुक्त हुन्छ । बालेन पनि त्यसैको प्रतिनिधि पात्र हुनुहुन्छ अहिलेका लागि, कसैबाट परिचालित भएजस्तो गुञ्जायस देखिँदैन । 

पूर्वतयारी, युवालाई विश्वास दिलाउन सक्ने खुबी, सामयसापेक्ष कमजोर प्रतिद्वन्द्वी, विवेकशील मतदाता तथा देशभित्र र बाहिरका युवाशक्तिको स्वतःस्फूर्त र निःस्वार्थ समर्थनले बालेनको जित भयो । जित नै सबैथोक होइन । सबैको साथ सहयोग भएन भने काम गर्न अप्ठ्यारो हुन्छ । त्यसैले बालेन राजनीतिक दाउपेचको सिकार हुने सम्भावना पनि त्यत्तिकै छ । कामको प्रकृति स्वतन्त्र भए पनि कुनै एउटा ठूलो पार्टीसँग मिल्न नसके काम गर्न अप्ठ्यारो हुन्छ । कुनै पार्टीमा प्रवेश गर्ने वा नयाँ पार्टी गठन गर्ने चुनौती बालेनसामु हुनेछ । बालेनको विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँगको भेट शुभकामना मात्र लिन नभई यसैको सङ्केत पनि हुन सक्छ । 

बन्चरेडाँडामा गएर स्थानीय बासिन्दासँग ‘म स्वतन्त्र हुँ, काम गर्न कसैले छेक्न सक्दैन’ भनेर बालेनले ओली शैली देखाउन थाल्नुभयो । यो शैली सबैका लागि पाच्य नहुन सक्छ किनकि आवेशमा मत दिए पनि नागरिक झुकाव कांग्रेस र एमालेप्रति नै छ । आफ्नो जित यथास्थितिलाई तोड्ने सङ्केत हो, पर्याप्त होइन भन्ने बालेनले बुझ्नुपर्छ । जसोतसो पाँचवर्षे कार्यकाल बित्ला । महानगरमा भ्रष्टाचारमा शून्य सहनशीलता कायम पनि होला तर जागिर खाने मात्र काम भयो भने त्यसको अर्थ रहँदैन । पाँचवर्षे कार्यकाल पाठ सिकेरै बिताउने अवस्था उत्पन्न हुनुहुँदैन, केपी ओलीको साढे तीनवर्षे प्रधानमन्त्रीत्वजस्तो । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले पोखेको कुण्ठाले उहाँकै शक्ति क्षयीकरण भइरहेको छ । पुष्पकमल दाहालले पनि आफ्नो अस्थिर रूप देखाउन थाल्नुभएको छ । आफूलाई कम्युनिस्ट भन्नेहरूको एकआपसको आरोप÷प्रत्यारोपले राजनीति झन् प्रदूषित हुँदै गएको छ । विगतको गल्ती कमजोरीबाट दुवै नेताले पाठ सिक्ने छाँटकाँट देखिँदैन । त्यसैले यही नीति र नेतृत्वबाट राजनीतिक संरचनामा परिवर्तन आउन सक्दैन । नेतृत्वले आफ्नो अस्तित्व कायम राख्ने, समाजमा राजनीतिक र सामाजिक परिवर्तनको आभास दिलाउने हो भने पार्टीभित्रैबाट बालेनहरूलाई फुल्न र फल्न दिनुपर्छ । के बालेनलाई टक्कर दिने हैसियतका युवा दलभित्र थिएनन् र ? पार्टीभित्र व्यक्तिकेन्द्रित राजनीति हाबी हुँदाको परिणामले स्वतन्त्र बालेनहरू जन्मायो । यो विषय कांग्रेसको हकमा झन् बढी लागू हुनेछ । 

यही बेला दलीय नेतृत्व विवेकहीन हुनुमा व्यवस्था दोषी कि पात्रको प्रवृत्ति भन्ने प्रश्न उठिरहेका छन् । समस्या व्यवस्थामा हो कि पात्रमा ? यो प्रश्नले उत्तर खोजिरहेको छ । व्यवस्था ठीक थियो तर पात्र गतिला भएनन् भन्ने आवाज पनि मुखरित भइरहेका छन् । व्यवस्था पनि जिम्मेवार छ । व्यवस्थामा सानो परिवर्तन गर्ने हो भने पात्रको प्रवृत्तिमा सुधार आउन सक्छ । सांसद मन्त्री हुन नपाउने भनेर एउटा मात्र नयाँ व्यवस्था थपिदिने हो भने ठूलो परिवर्तन आउँछ । जसको प्रभाव धेरैतिर पर्छ । भ्रष्टाचार कम हुँदै जान्छ । निर्वाचन सस्तो हुन्छ । व्यवस्था सहज रूपमा चल्छ, यसमाथि प्रश्न उठ्दैन अहिलेजसरी ।

सांसदले कानुन निर्माण मात्रै गर्ने हो भन्ने सन्देश प्रवाह भयो भने खर्च गरेरै भए पनि चुनाव जित्नैपर्छ भन्ने हुँदैन । एउटा सानो त्यान्द्रोले व्यक्तिमा सुधार ल्याउन सक्छ भने किन नगर्ने ? समाजमा सदाचारी, समाजसेवी कोही पनि छैन, सबै लोभीपापी मात्र छन् । व्यक्तिलाई लोभीपापी बनाउने काम व्यवस्थाले गरेको छ । व्यक्तिलाई सदाचारी बनाउन व्यवस्था सदाचारी हुनुप-यो । बदमासी हुन दिनु भएन । मान्छे खराब हुन्छ भनेरै राज्यको परिकल्पना गरिएको हो । मान्छे खराब हुँदैनथ्यो भने राज्य नै चाहिने थिएन । 

हामीले अपनाउँदै आएको संसदीय व्यवस्था बेलायती नमुना हो । जर्मनीमा पनि यस्तै व्यवस्था छ । बेलायत र जर्मनीमा यो व्यवस्था सफल हुने नेपालमा मात्र किन भएन त भन्ने प्रश्न उठ्ने गर्छ÷उठाउने गरिन्छ । नेपालमा व्यक्तिमै समस्या भएकाले यो व्यवस्था उपयोगी हुन नसकेको तर्क पनि गरिन्छ । त्यो व्यवस्थाले विकास हुन्छ भनियो ।

कसैको व्यवस्था कपी गरेर मात्र सफल हुने होइन रहेछ, पात्रको प्रवृत्ति पनि मिल्नुपर्छ । बेलायत र जर्मनीको ऐतिहासिक सन्दर्भ, राजनीतिक संस्कार, धार्मिक अवस्था, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता र अन्तर्राष्ट्रिय परिवेशले त्यहाँको चरित्र निर्माण भएको छ । हाम्रो चरित्र उनीहरूसँग मेल खाँदैन । हावापानी र माटो हेरेर बिरुवा लगाउने हो तर यहाँ त्यो खालको परिवेश तय गर्नै सकिएन । व्यक्तिमा सुधार ल्याउन नसकिएपछि व्यवस्थामा सुधार खोजिएको हो । राजनीतिक पात्रमा सुधार ल्याउन नसक्नुको परिणाम हो बालेनको उपस्थिति । 

निर्वाचन लोकतन्त्र परिस्कृत गरी संस्कृति निर्माण गर्ने महत्त्वपूर्ण अवसर भए पनि म र मेरो भन्ने भावनाले प्रश्रय पायो । म र मेरोबाट उठ्ने दलीय चरित्र निर्माण हुनै सकेन । यो कम्युनिस्ट पार्टीभित्र मात्रै होइन लोकतान्त्रिक पार्टी भनिने कांग्रेसभित्र पनि झाँगिदो छ । यसबाट बाहिर निस्कन नसक्ने हो भने अबको निर्वाचनमा थुप्रै बालेनहरू जन्मिनेछन् । त्यसअघि पार्टीहरूले आफूभित्रका बालेनहरू चिन्ने कोसिस गरून् । पार्टीभित्रका नयाँ बालेनले सगरमाथा र बुद्ध जन्मेको देशका रूपमा मात्र नभई संस्कारको राजनीति, कूटनीति र अर्थनीतिले विश्वमा नेपाललाई चिनाउने वातावरण निर्माणको ढोका खुलाउनेछन् । अनि मात्र व्यावहारिक रूपमै स्वाधीनताको परिचय स्थापित भई नक्कली राष्ट्रवाद पराजित हुनेछ ।

Author

विनोद न्यौपाने