सुरेश धामी
बझाङ, चैत २२ गते । नयाँ वर्ष नजिकिँदै जाँदा बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अनुगमनलाई तीव्र बनाएको छ । यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न सवारी जाँच तथा निगरानी कडाइका साथ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाउनेको सङ्ख्या बढ्दै गएकाले सडक दुर्घटना न्यूनीकरणका लागि चेकजाँचमा कडाइ गरिएको हो । जयपृथ्वी राजमार्गसहित बागथला, झोता, तमैल, बुंगल, चैनपुरलगायतका विभिन्न शाखा सडकहरूमा दैनिक रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विनोद विष्टले बताउनुभयो ।
नयाँ वर्षमा यात्रुको चाप बढ्ने भएकाले चेकजाँच नियमित रूपमा भइरहेको छ । निजी प्रयोजनका लागि दर्ता भएका जीपहरूलाई सार्वजनिक सवारीका रूपमा प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (८) को उपदफा (२) अनुसार यस्तो कार्य गैरकानुनी हुने हुँदा अबदेखि कडाइका साथ नियन्त्रणमा लिइने र कारबाही गरिने प्रमुख विष्टको भनाइ छ ।
लामो तथा छोटो दूरीमा चल्ने यात्रुवाहक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको, भीडभाड गरे÷नगरेको, बढी भाडा लिए/नलिएको, जस्ता विषयमा विशेष निगरानी गरिएको छ ।
नियम उल्लङ्घन गर्नेलाई कारवाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले ट्राफिक नियम उल्लङ्घन गर्ने सार्वजनिक सवारीसाधनहरूलाई कडाइका साथ कारबाही गर्दै आएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १ गतेदेखि हालसम्ममा ८ सय ९१ सवारीसाधन कारबाहीमा परेका छन् ।
कारवाही गरिएको सवारीमध्ये सबैभन्दा बढी ६ सय १२ वटा जीप रहेका छन् । ती जीपहरूबाट मात्र पाँच लाख ३७ हजार पाँच रुपियाँ राजस्व सङ्कलन गरिएको छ । कुल ६ महिनाको अवधिमा ट्राफिक प्रहरीमार्फत सात लाख ७९ हजार रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सवारी दुर्घटनाका प्रमुख कारणहरूमा यात्रुको लापरवाही, ओभरटेक, तीव्र गति, मापसे (मदिरा सेवन गरेर सवारी), मोबाइल प्रयोग, ओभरलोड, यान्त्रिक गडबडी र सडक अवस्था रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम विपरीत यात्रु बोक्ने जीपहरूलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि पठाउने तयारी गरिरहेको जनाएको छ । साथै प्रहरीले कानुनी प्रावधानबारे सचेतना कार्यक्रममार्फत जानकारी दिइरहेको र नियम पालना नगर्नेहरूमाथि आगामी दिनमा झन कडाइ गरिने बताइएको छ ।