• २९ वैशाख २०८१, शनिबार

खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल न्यून

blog

सन्तोष राउत

सोलुखुम्बु, जेठ २१ गते । केही समय अघिसम्म पर्यटकले खचाखच भरिने सोलुखुम्बुको खुम्बुक्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’ मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।

हिमाल आरोहणको समेत सिजन भएकाले सबैभन्दा बढी पर्यटकको आवागमन हुने यस सिजन सकिनलाग्दा खुम्बु क्षेत्र सुनसान बन्दैगएको छ । पर्यटनको मध्य ‘सिजन’ मा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौधौ परेका यहाँका होटल व्यवसायीलाई समेत यतिखेर फुर्सद मिलेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताउनुभयो ।

‘सिजनमा पर्यटकको स्वागत सत्कारमा व्यस्त भइन्छ, त्यही भएर अहिले आराम गर्ने, घुमिफरमा जाने गरेका छौं’ उहाँले भन्नुभयो । केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बुक्षेत्र अहिले शान्त बनेको छ ।

‘सिजन’ मा आवतजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सीमित पर्यटक मात्रै भेटिनेगरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । सिजन सकिएसँगै यतिखेर खुम्बुवासी पूजापाठमा व्यस्त रहेको उहाँको भनाइ छ ।

अत्यन्तै चाप हुनेभएकाले ‘सिजन’ सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालक बाहिर निस्कनेगरेका छन् । यस क्षेत्रका नागरिकको मुख्य आम्दानीको स्रोत नै पर्यटन व्यवसाय भएकाले ‘सिजन’ सकिएसँगै उहाँहरु फुर्सदिलो हुनुभएको हो । 

‘सिजन’ मा कडा मेहनत गर्ने र ‘अफसिजन’ मा रमाइलो, घुमफिर, भ्रमणलगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकको विशेषताजस्तै बनेको छ । खुम्बु क्षेत्रमा अंग्रेजी महिनाको मार्च दोस्रो साताबाट सुरु हुने पर्यटकीय ‘सिजन’ मे अन्तिम साताबाट कम हुँदैजाने स्थानीयहरु बताउँछन् ।

‘सिजन’ मा दैनिक सातसय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक नगन्य मात्रामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताउनुभयो । पर्यटकको अवागमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ ।