• २४ असार २०८१, सोमबार

नदीजन्य पदार्थको अवैध उत्खननमा कडाई

blog

विजयकुमार साह 

ढल्केवर, जेठ २१ गते । नदीबाट हुनेगरेको अवैध उत्खनन रोक्न धनुषाको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले कडाई गर्नुभएको छ । नवनिर्वाचित नगर प्रमुख यादवले पदभार ग्रहण गर्नुभएकै दिन नगरपालिका क्षेत्रभित्र पर्ने नदीहरुबाट भइरहेको अवैध उत्खनन रोक्ने घोषणा गर्नुभएको थियो । 

घोषणा गर्नु भएअनुसार नगर प्रमुख यादवले शुक्रबार सशस्त्र र जनपद प्रहरीसहित नगरपालिकाको वडा ५ मा पर्ने सखुवनीस्थित कमला नदीको अनुगमन गर्नुभयो । १०–१२ वटा जति ट्याकटरमै बकेट जडान गरेर नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो । त्यसभन्दा बढी ओसारपसार गर्ने ट्याक्टर र टिपर थियो । कमला नदी धनुषा र सिरहाको जिल्लाको सीमा क्षेत्र हो । 

नगरपालिका क्षेत्रभित्र पर्ने कमला, बलवा र चारनाथ खोलाबाट वर्षौंदेखि अवैध उत्खनन हुँदैआएको छ । अवैध उत्खनन नियन्त्रण गर्न तथा अनुगमन गर्न नगरपालिकाको प्रमृुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी, जनपद प्रहरी र राजनीतिक दलका प्रतिनिधि सम्मिलित १५ सदस्य अनुगमन समिति समेत गठन गरिएको छ, नगर प्रमुख यादवले भन्नुभयो । 

नगरपालिकाका कर्मचारी विश्वनाथ यादवले नदी दोहन तत्कालै रोक्न नगर प्रमुख यादव सक्रियरुपमा लागेको बताउनुभयो । नगर प्रमुखले पदभार सम्हालेपश्चात पहिलो निर्णय नै नदीबाट हुनेगरेको अवैध दोहनलाई नियन्त्रण गर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो । क्रसर माफियाहरुले प्रशासनको आँखामा छारो हाल्न ट्याक्टरमै बकेट जडान गरेर ट्याक्टरमा ग्राभेल लोडगरी नदी किनारमा जम्मा गर्नेगरेको छ । अवैध नदी दोहन पूर्णरुपमा बन्द गर्ने यादवले बताउनुभयो ।